त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षामा सहभागीहरू सबैजसो फेल

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षामा सहभागीहरू सबैजसो फेल भएका छन्।

उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक, लेखा अधिकृत पदमा लिइएको लिखित परीक्षामा एक हजार चार सय ६३ जना सहभागी थिए। तर मुख्य कार्यालय सहायक पदमा एक जना मात्रै अन्तर्वार्ताका लागि छनौट भएका छन्।

२०७८ मंसिर ५, ६ र ७ गते सञ्चालित उपप्रशासक पदमा १२ जनाले लिखित परीक्षा दिएका थिए।

खुलातर्फ २, महिलातर्फ १ र आदिवासी जनजातीतर्फ १ गरी जम्मा ४ जनाका लागि उक्त परीक्षा लिइएको थियो। तर कोही पनि लिखित परीक्षामा उत्तीर्ण भएनन्।

यस्तै शाखा अधिकृत पदका लागि २०७८ कात्तिक २८, २९ र ३० गते परीक्षा लिइएको थियो।

खुलातर्फ २२, महिलातर्फ ६, आदिवासी जनजातितर्फ ५, मधेशीतर्फ ४, दलिततर्फ एक, अपाङ्गतर्फ १ र पिछडिएको क्षेत्रतर्फ १ गरी ४० जनाका लागि लिइएको परीक्षामा ५४२ जनाले लिखित परीक्षा दिएका थिए। यीमध्ये कसैले पनि लिखित परीक्षा उत्तीर्ण गर्न सकेनन्।

साथै २०७७ माघ २५, २६ र २७ गते भएको आर्थिक उपनियन्त्रकको परीक्षामा पनि कोही पनि पास भएनन्। दुई जना माग भएकोमा तीन जनाले लिखित परीक्षा दिएका थिए। कसैले पनि लिखित परीक्षा पास गर्न सकेनन्।

२०७८ मंसिर ५, ६ ७ गते भएको लेखा अधिकृतको परीक्षामा १२९ जनाले परीक्षा दिएका थिए। १५ जना माग भएकोमा कसैले पनि लिखित परीक्षा उत्तीर्ण गर्न सकेनन्।

यस्तै २०७८ मंसिर १ र २ गते मुख्य कार्यालय सहायकका लागि लिइएको परीक्षामा एक जना उत्तीर्ण भएका छन्। ४३ जना माग भएको थियो। लिखित परीक्षामा खुलातर्फ १ जना अन्तर्वार्ताका लागि छनौट भए भने अरूले नाम निकालेनन्। यो परीक्षामा ७७७ जना सहभागी थिए।

यस्तै कार्यालय सहायकका लागि ५१ जना माग गरिएकोमा ६७२ जनाले लिखित परीक्षा दिएका थिए। यीमध्ये ८७ जना अन्तर्वार्ताका लागि छनौट भएका छन्।