पत्रकार रवि लामिछानेले राजनीतिमा : राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै एक जनालाई संसदमा छिर्न रोक्ने उद्घोष

७ असार, काठमाडौं । पत्रकार रवि लामिछानेले पत्रकारिता पेशा छोडेर राजनीतिमा आएका छन् । उनले आज काठमाण्डौको राष्ट्रिय सभा गृहमा एक कार्यक्रमगरी राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।

घोषणा कार्यक्रममा लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग पनि राखेका छन् ।

उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे ।

स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रह‍ेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको उनले सुनाए ।

उनले पार्टी सदस्यहरुबीच प्रारम्भिक निर्वाचन गरेर मात्र संसदको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार चयन गर्ने बताए । प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवार हुने व्यक्तिले पहिला पार्टीमा चुनाव जित्नु पर्ने उनको अवधारणा छ ।

यसरी पार्टीमा प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित भएपछि उसले चुनावअघि नै मन्त्रिपरिषदमा जाने सदस्य चयन गर्ने उनले बताए । उनले पार्टीका सदस्यलाई राइट टु रिकलको अधिकार पनि हुने बताए ।

लामिछानेले पार्टीको भ्रातृ संगठन नबनाउने पनि घोषणाा गरे । पार्टीमा कोही पनि कार्यकर्ता नहुने र सबै सदस्य मात्र हुने उनले बताए । सदस्यले मत हाल्ने बाहेक पार्टीका लागि कुनै काम गर्नु नपर्ने उनले बताए ।

लामिछानेले पार्टीका हरेक कमिटीमा ५० प्रतिशत युवा सहभागिता हुने बताएका छन् ।