गोरखाको एक घरमा आगलागी हुँदा एक वृद्धाको मृत्यु

गोरखाको एक घरमा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ।

गएराति शहिदलखन गाउँपालिका वडा नम्बर ७ स्थित तिवारी टोलको एक घरमा आगलागी भएर वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।

पुरानो खाब्दी स्कुल नजिकैको घरमा बस्ने ६९ वर्षकी केशरीमाया वस्तीको मृत्यु भएको हो। उनको शवको पेटको भागमात्रै बाँकी रहेको खनालले बताए।

उनका अनुसार घटना गएराति ११ देखि १२ बजेको बीचमा भएको आशंका छ। घटनाबारे शनिबार बिहान मात्रै थाहा भएको हो। प्रहरीलाई पनि बिहान साढे ७ बजे मात्रै खबर भएको हो।

‘घर जंगलको बीचमा छ। त्यस घरलाई अन्य घरबाट नदेखिने रहेछ,’ प्रहरी उपरीक्षक खनालले भने,‘ग्यास लिक भएर आगलागी भएर मृत्यु भएको जस्तो देखिन्छ। शरीरको ३ प्रतिशतमात्रै बाँकी छ।’ घरमा पनि पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ।

मृतक वस्ती सो घरमा एक्लै बस्थिन्। उनका छोरा नजिकै खाप्ली भन्ने ठाउँमा पसल थापेर बसेका छन्।