सचिवालय बैठक बस्नु अगावै प्रधानमन्त्रीको पक्षमा सांसदहरुको हस्ताक्षर संकलन हुँदै

१७ बैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका छन् । अध्यक्ष पद नछाडे प्रधानमन्त्रीबाट पनि हटाउने तयारी भएको भन्दै ओली पक्षले संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन संघीय संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु भएको हो ।
सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधवार पनि ओली पक्षीय सांसदहरुको भेला भएको छ । राजधानी बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं ल्याइँदैछ ।
बुधबार साँझ ५ बजे बोलाइएको सचिवालय बैठकमा स्थायी कमिटी बैठकको प्रस्ताव आउने भएकाले ओलीले संसदीय दलमा बहुमत जुटाएर दलको बैठक बोलाउन प्रस्ताव लैजान खोजेका छन् । एक सांसदले भने, ‘स्थायी कमिटी होइन, प्रधानमन्त्री चयन गर्ने संसदीय दलले हो । त्यसो भए संसदीय दलमै चुनाव गरौं, म दलमै फेस गर्छु भन्नुहुन्छ प्रधानमन्त्रीले । प्रधानमन्त्री फेर्ने हो भने अब संसदीय दलको बैठक हुन्छ ।
प्रधानमन्त्रीले पछिल्ला तीन–चार दिनयता लगातार सांसदहरुसँग भेटेर उनीहरुका कुरा सुनिरहेका छन् । सांसदहरुसँग प्रधानमन्त्रीले कमी कमजोरी हटाउने, अबदेखि पार्टीसँग सल्लाह गरेर चल्ने, तर हटाउन खोजिए सबै परिस्थितिको सामना गर्ने बताएका छन् ।
प्रधानमन्त्रीको पक्षमा प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ११५ जना सांसदले साथ दिने ओलीनिकट नेताहरुको दाबी छ । बुधबार बिहानसम्म सुदूरपश्चिम प्रदेशका नेकपाका १९ सांसदमध्ये १६ जना आफ्नो पक्षमा उभिएपछि ओली पक्ष उत्साहित भएको छ । पूर्वएमालेका १२१ मध्ये ओलीको पक्षमा ७८ जना रहेको समाचार बताइएको छ । यसबीचमा केही सांसदले प्रधानमन्त्री ओलीलाई भेटेरै वा अन्य नेतामार्फत खबर गरेर प्रधानमन्त्रीको पक्षमा रहेको जनाउँदा त्यो संख्या ९२ पुगेको ओलीनिकट नेताहरुले बताएका छन् ।