Breaking News

काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा भोलि बिहान स्थानीय वासिन्दासँग छलफल

२६ जेठ, काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा भोलि शुक्रबार स्थानीय वासिन्दासँग छलफल हुने भएको छ ।

काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तह, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिसँगै स्थानीय वासिन्दा पनि छलफलमा सहभागी हुने शहरी विकास मन्त्रालयले जनाएको छ ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीका प्रेस संयोजक विष्णु राईगाईंका स्थानीय वासिन्दा, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहितको सर्वपक्षीय छलफल हुन लागेको हो । ‘मन्त्री रामकुमारी झाँक्री सहित मन्त्रालयका सचिव, महाशाखा प्रमुख पनि वार्तामा बस्छन् । भोलिको बैठकले केही ठोस निर्णय गर्ला’ उनले भने ।

यसअघि गत सोमबार शहरी विकास मन्त्रालय, उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि र बञ्चरेडाँडा क्षेत्र पर्ने धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच सहमति भएको थियो । तर उक्त सहमतिमा स्थानीय वासिन्दाले चित्त नबुझाएपछि फोहोर लिएर गएका ट्रकमा अवरोध गरेका थिए ।

फोहोर बोकेको गाडीलार्इ अवरोध गरेको आरोपमा प्रहरीले बञ्चरेडाँडा क्षेत्रका केही स्थानीय वासिन्दालाई बुधबार पक्राउ गरेको थियो । पक्राउ परेकाहरु बिहीबार रिहा भएका छन् ।

ढुंगानाले स्थानीय बासिन्दाले लामो समयदेखि उठाउँदै आएको मागबाट आफूहरु पछि नहट्ने बताए । नुवाकोट र धादिङमा फोहोरबाट प्रभावित भएका ४ सय स्थानीयलाई रोजगारी दिनुपर्ने, प्रभावित क्षेत्रमा भएको गुठी सम्बन्धी समस्या समाधान गर्नुपर्ने, बञ्चरेडाँडाको वरिपरि ३ हजार मिटर क्षेत्र अधिग्रहण गर्नुपर्ने र अधिग्रहण नगरे स्थानीय वासिन्दालाई अन्यत्र जग्गा दिनुपर्ने स्थानीय वासिन्दाको माग छ ।