Breaking News

दैलेखको जिल्ला समन्वय समिति प्रमुखमा बागी उम्मेदवार निर्वाचित

जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा कांग्रेसबाट बागी उम्मेदवार निर्वाचित भएका छन्।

आज भएको जिससको निर्वाचनमा बागी उम्मेदवार नमराज शाही समन्वय प्रमुखमा निर्वाचित भएका हुन्।

कांग्रेसका जिल्ला उपसभापतिसमेत रहेका शाही नेकपा एमालेको सहयोगमा समन्वय प्रमुख बनेका हुन्।

एमालेसँग भएका १० वटा मतसहित उनले १३ मत ल्याएका छन्।

गठबन्धनको तर्फबाट आधिकारिक उम्मेदवार कांग्रेसकी दुर्गा श्रेष्ठले ९ मत ल्याएकी छन्।

उपप्रमुखमा एमालेका केशवबहादुर शाही ११ मतसहित निर्वाचित भएका छन्। नेकपा (एकीकृत समाजवादी)  बाट उम्मेदवार शान्ति शाहीले १० मत प्राप्त गरेकी छन्।

महिला सदस्यमा नेकपा (एस) का कविताकुमारी गिरी, कोकिलाकुमारी खड्का र पूर्ण विक निर्वाचित भएका छन्। दलित सदस्यमा माओवादी केन्द्रका तुल्सा विक निर्वाचित भएकी छन्।

खुला सदस्यहरूमा नेपाली कांग्रेसका अड्गबहादुर शाही, माओवादी केन्द्रका पत्तबहादुर डाँगी र बागी उम्मेदवार डिलबहादुर शाही निर्वाचित भएका छन्।

जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा नेपाली कांग्रेस र माओवादीबीच गठबन्धन गरिएको थियो।