निर्वाचन आयोगको सिफारिसमा गृह मन्त्रालयले बाजुरामा प्रमुख जिल्ला अधिकारी (सिडिओ), सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख परिवर्तन गरेको छ।
यहाँको बुढीगंगा नगरपालिकामा वैशाख ३० मा स्थानीय चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भइरहेको थियो।
नेपाली कांग्रेसले नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाएको छ भने एमालेले सत्ताको दुरूपयोग गर्दै कांग्रेसले कब्जा गरेको आरोप लगाइरहेको छ।
कांग्रेसबाट बुढीगंगामा रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ मेयर उम्मेदवार थिए।
मतदान केन्द्र कब्जा हुँदा सुरक्षाकर्मीहरूले प्रभावकारी भूमिका नखेलेको आरोप पनि छ।
त्यसैले निर्वाचन आयोगले सिडिओसहित प्रहरी प्रमुखहरू परिवर्तन गरी पुनस् निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गरेको थियो।
चुनाव निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्न नसकेको भन्दै प्रजिअ र प्रहरी प्रमुखहरूलाई हटाएर नयाँ पठाइएको हो।
गृह मन्त्रालयका अनुसार प्रकाशचन्द्र अधिकारीलाई सिडिओको जिम्मेवारी दिइएको छ।
सशस्त्र प्रहरी प्रमुखमा गंगादत्त पन्त र नेपाल प्रहरी प्रमुखमा प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापालाई जिम्मेवारी दिइएको छ।
उनीहरूले आइतबारदेखि कार्यभार सम्हालेका थिए।