श्रीमानले मलद्वारमा लौरो घुसाउँदा घाइते भई उपचारर्थ मृत्यु भएकी गीता माझीको शव उठ्यो

श्रीमान्‍ले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएकी पूर्वी चितवनको खैरहनी नगरपालिका–१० की गीता माझीको शव उठेको छ । उनको सोमबार राति साढे ११ बजेको समयमा भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

शवको पोस्टमार्टमपछि खैरहनी नगरपालिकाले गीताको शव उठाएको हो । उनको दाहसंस्कार पनि नगरपालिकाले नै गर्ने भएको छ । शवलाई अहिले उनको घरमा लगिएको छ । शवको जिम्मा लिने व्यक्ति नभएपछि स्थानीय सरकारले दाहसंस्कार गर्ने गरी जिम्मा लिएको खैरहनी नगरपालिकाकी उपमेयर कविता उप्रेतीले जानकारी दिइन् ।

आरोपित रामचन्द्र माझीविरुद्ध उनकै छोरी पुष्पा माझीले उजुरी दर्ता गरेकी हुन् । हिरासतमा रहेका रामचन्द्रविरुद्ध प्रहरीले यसअघि नै ज्यानसम्बन्धी र बलात्कारको मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ । घटना भएको पाँच दिनपछि छोरीले बाबुविरुद्ध लिखित उजुरी दिएकी हुन् ।

गीताका १५ र १३ वर्षका दुई छोरी छन् । उनीहरूको जिम्मा स्थानीय अधिकारकर्मीहरूले लिने भएका छन् । त्यस्तै, किरिया खर्चका लागि अधिकारकर्मीहरूले सहयोग सङ्कलन पनि गरेका छन् ।

किरिया खर्चका लागि जिल्ला बाल कल्याण समितिले १० हजार, अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले १५ हजार, बागमती प्रदेश सांसद रीना गुरुङले पाँच हजार रुपैयाँ र विभिन्न व्यक्ति तथा संस्थाले स्वैच्छिक रूपमा ३१ हजार रुपैयाँ उपमेयर उप्रेतीमार्फत छोरी पुष्पा माझीलाई हस्तान्तरण गरेका छन् ।

न्यायिक प्रक्रिया अघि बढ्दै जाँदा बाबुविरुद्ध उजुरी दिने छोरीको मन फेरिन सक्ने भएकाले चितवन प्रहरीले अधिकारकर्मीहरूको सहयोग लिएको छ । बयान र साक्षीलगायतको सहयोगका लागि चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जनप्रतिनिधि र अधिकारकर्मीसँग सहयोग मागेका हुन् ।

एसपी अधिकारीले भने, ‘महिलाका संवेदनशील घटनामा पीडित वा पीडित पक्षका व्यक्ति होस्टाइल भइदिँदा न्यायिक प्रक्रियामा समस्या आउने भएकाले जनप्रतिनिधि र अधिकारकर्मीसँग सहयोग मागेका हौँ ।’ न्यायिक प्रक्रियाका लागि आफूहरूले सहयोग गर्ने उनीहरुले अधिकारकर्मीहरूले प्रतिबद्धता पनि जनाएका छन् ।

न्युज कारखाना