चन्द्रागिरी नगरपालिकाको लकडाउन जरिवना भिन्नाभिन्नै

१६ बैशाख, काठमाडौं । कोरोना भाइरसका कारण अहिले नेपाल बैशाख २५ गतेसम्म लकडाउनमा छ । यसैको मध्यनजर गर्दै काठमाडौंको चन्द्रागिरि नगरपालिकाले लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई एक सय रुपैयाँदेखि हजार रुपैयाँसम्म जरिवाना लिन थालेको छ । महानगरीय प्रहरी वृत्त, थानकोट र नगरपालिकाको सहकार्यमा संक्रामक रोग सम्बन्धी ऐनमा भएको व्यवस्था अनुरुप जरिवाना तिराउन थालिएको हो ।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले हालसम्म करिब १५ सय मानिस कारबाहीमा परिसकेको बताएका छन् । ‘एक लाखभन्दा बढी रकम जरिवाना उठिसकेको छ, रसिद काटेर नगर स्तरीय कोरोना कोषमा रकम जम्मा गरिएको पनि उनले जनाए ।
थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार नगर सुरक्षा समितिको निर्णयपछि २८ चैतबाट यो अभियान थालिएको हो । ‘लकडाउन उल्लंघन गरे एक सय रुपैयाँ र लकडाउनको समयमा मदिरा पसल खोले एक हजार रुपैयाँ जरिवाना संकलन हुँदै आएको छ । उनका अनुसार कसूर अनुसार जरिवाना रकम पनि भिन्दाभिन्दै छ । जरिवाना गर्न थालिएपछि सडकमा सर्वसाधारण निस्किने क्रम न्यून भएको छ ।
नगरपालिकाले तरकारी किन्नका लागि बिहान ६ बजेदेखि १० बजेसम्मको समय तोकेको छ । त्यसदेखि बाहेकको समयमा सडकमा निस्किने क्रम अत्यन्त न्यून भएको छ । जरिवानाको नियम लागू गरेको सुरुवाती दिनमा ४८ जनासम्म एकैदिन कारबाहीमा परेको रेकर्ड छ ।
जरिवाना संकलनका लागि नगरपालिकाले ८ जना कर्मचारी नै खटाएको
छ । उनीहरुमध्ये दुई जना प्रहरीको मोबाइल टोलीसँगै हुन्छन् भने ६ जनालाई विभिन्न चोकमा राखिएको छ ।