काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारकाट निर्वाचित भएपछि अहिले बालेन्द्र साहलाई अहिले बधाई दिनेको ओइरो आइरहेको छ । बालेनलाई सामाजिक सञ्जालदेखि वा भेटेरै उनलाई बधाई दिनेहरुको ठूलै जमात देखिन्छ।
बधाई दिनेको यो लाममा एउटा ‘बधाई’ले चाहिं धेरैजनाको ध्यानाकर्षण गरिरहेको छ बालेन पत्नी सबिना काफ्लेको । बालेनले उम्मेदवारी दिएलगत्तै मिडियाको आकर्षणमा परेकी सबिनाको अहिलेको चर्चा सेलिब्रिटीको भन्दा कम छैन ।
सबिनाले फेसबुकमार्फत मर्मस्पर्शी बधाई दिएकी छन् । उनको यो बधाई अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनी लेख्छिन्, ‘आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ । यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन, बरु गर्वले छाती फुलेको छ, शिर उचालिएको छ ।’
‘घरभित्रबाट जितेर हिंडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ,’ उनी लेख्छिन् । सबिनाको यो बधाई सन्देशमा धेरैजनाले ‘एउटा सफल पुरुषको पछाडि नारी’ हुनुको सन्दर्भ उल्लेख गरेका छन् ।