९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । अहिले बिहानसम्म मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ४३ हजार ८५० मतसहित अग्रता फराकिलो बनाएका छन् ।
दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत पाएका छन् । सिर्जना केशव भन्दा ८८५ मत अन्तरले अगाडि छिन् ।
तर सिर्जनालाई बालेनले १७ हजार ९०६ मत अन्तरले पछि पारेका छन् । केशवभन्दा बालेन १८ हजार ७९१ मत अन्तरले अगाडि छन् ।
काठमाडौं महानगरपालिकामा अब गन्न बाँकी मत ६२ हजार ४९९ छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौंमा १ लाख ९० हजार ९८४ मत खसेको थियो ।