वैशाख ३० गते सवारी अनुमति पत्र बाकेका गाडीहरुमात्र गुड्न पाउने : पत्रकारहरुले कोटाको आधारमा सवारी अनुमति पत्र (पास) पाउने

२६ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानको दिन वैशाख ३० गते सवारी अनुमति पत्र बाकेका गाडीहरुमात्र गुड्न पाउने भएका छन् । पत्रकारहरुले सम्बन्धित सञ्चार माध्यमका लागि छुट्याइएको कोटाको आधारमा सवारी अनुमति पत्र (पास) पाउने छन् ।

मतदानको दिन मतदातालाई सवारी साधन प्रयोग गरी ओसार पसार गर्न पाइँदैन । तर निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गाडीहरु भने गुडाउन पाइन्छ । उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई भने मुख्य निर्वाचन अधिकृतको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट पास उपलब्ध गराइन्छ ।

शारीरिक रूपमा अशक्त व्यक्तिहरुका लागि मतदान स्थलसम्म आउ-जाउ गर्न पनि अनुमति प्राप्त सवारीसाधन प्रयोग गर्नुपर्छ । त्यसरी आउ-जाउ गर्दा अशक्त व्यक्तिको साथमा आफ्नै परिवारको एकजना सदस्य रहन पाउँछन् ।

अत्यावश्यक सेवाका एम्बुलेन्स, खानेपानीका ट्यांकर, दमकल, दूरसञ्चार, शव वाहन, अस्पताल, विद्युत् तथा नीलो नम्बर प्लेट प्रयोग भएको कूटनीतिज्ञहरुको गाडीहरुलाई भने सवारी पासको अनुमति लिनुपर्दैन । तर विदेशी नम्बर प्लेटका कुनै पनि सवारीसाधन प्रयोग गर्न पाइँदैन ।

संवैधानिक आयोग, तिनका जिल्ला तथा प्रदेश कार्यालयका प्रतिनिधि, कूटनीतिक नियोग र नियोगबाट खटिने अवलोकनकर्ता, आयोगबाट आमन्त्रित अतिथि, राष्ट्रसंघीय नियोगका प्रतिनिधि, निर्वाचन आयोगले खटाएका अनुगमनकर्ता, साझेदार निकाय, अन्तर्राष्ट्रिय संघसंस्थालगायतले निर्वाचन आयोगले पास लिनुपर्छ ।

अन्य सरकारी कार्यालय र निजी कार्यालहरूलाई भने नियमन गर्ने निकायको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउँछ ।

मतदानको दिन दुई पांग्रे वा चार पांग्रे सवारी साधन प्रयोग गर्ने पत्रकारहरुले पनि सूचना विभागको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौं उपत्यकाका पत्रकारहरुको हकमा सूचना विभागको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयबाट पास वितरण हुन्छ ।

सञ्चार माध्यमहरुलाई सवारी पासका लागि कोटा छुट्याइएको छ । ब्रोडसिट दैनिक पत्रिकालाई कार्यालय प्रयोजनका लागि बढीमा ५ र समाचार संकलनका लागि बढीमा २० वटा पास पाइन्छ ।

अरू दैनिक पत्रिकाहरुलाई कार्यालय प्रयोजनमा ५ र समाचार संकलनमा १० वटा पास तथा साप्ताहिक पत्रिकालाई बढीमा ३ वटा पास छुट्याइएको छ ।

टीभीले बढीमा १०, रेडियोरएफएमले कार्यालय प्रयोजनका लागि एउटा र समाचार संकलनका लागि ७ वटा सवारी पास पाउने छन् ।

अनलाइनहरुलाई कार्यालय प्रयोजनका लागि दुईवटा र समाचार संकलनका लागि ५ वटा पासको कोटा छुट्याइएको छ ।
फोटोपत्रकारका लागि प्रत्येक संस्थालाई बढीमा ७ र राष्ट्रिय समाचार समिति ९रासस०का लागि बढीमा ५ वटासम्म पास जारी गर्ने गरी कोटा निर्धारण गरिएको छ ।

काठमाडौं उपत्यका बाहिरका सञ्चार माध्यमका लागि सूचना विभागबाट जारी पास वा पत्रकार महासंघ जिल्ला शाखाको सिफारिसमा बढीमा ५-५ वटाको दरले जिल्ला प्रशासन कार्यालयबाट पास लिन सक्ने निर्वाचन आयोगले जारी गरेको सवारी साधन व्यवस्थापन मापदण्डमा उल्लेख छ ।

निर्वाचन आयोगले जारी गरेको सवारी साधन व्यवस्थापन मापदण्ड अनुसार सवारी अनुमति पत्र लिनका लागि यही वैशाख २८ गतेसम्म निवेदन दिइसक्नुपर्छ ।