जापानद्धारा १४ राष्ट्रका नागरिकलाई प्रतिबन्ध

एजेन्सी १६ वैशाख, काठमाण्डौं । कोरोना भाइरसका कारण विश्व नै त्रास भएपछि जापानका प्रधानमन्त्री शिन्जो आबेले रसिया, पेरु र साउदी अरेबिया समेतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने सोमबार घोषणा गरेका छन् । ती मुलुकमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि प्रतिबन्ध लगाउनु परेको प्रधानमन्त्री आबेले बताएका छन् ।
जापानले यसअघि ७० मुलुकका नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध लगाएको थियो। प्रधानमन्त्री आबेले सरकारको पछिल्लो घोषणा यही बुधबारदेखि लागू हुने
बताए ।
जापानले यसअघि घोषणा गरिएका मुलुकमाथि लागेको प्रतिबन्ध यही अप्रिल ३० मा सकिँदै थियो तर उक्त मितिलाई पनि आगामी मे महिनाको अन्त्यसम्म बढाइएको छ । मे ६ सम्मका लागि जापानमा आपतकालीन स्थितिको घोषणा गरिएको छ ।
सरकारी अधिकारीहरु र विज्ञहरुले कोरोना संक्रमण रोकथामका लागि हाल अपनाइएका उपायहरु सफल रहे वा नरहेको बारेमा सूक्ष्म विश्लेषण गरिरहेका छन् । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा हालसम्म १३ हजार ३८५ जना संक्रमित भएका छन् भने ३६४ जनाको मृत्यु भएको छ ।