चीनको होङझोउ शहरमा सेप्टेम्बरका लागि निर्धारित एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित

२३ वैशाख, काठमाडौं । चीनको होङझोउ शहरमा सेप्टेम्बरका लागि निर्धारित एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित भएको छ ।

आयोजक राष्ट्रले प्रतियोगिता सार्नुपर्ने कारण प्रष्टसँग उल्लेख नगरे पनि चीन अहिले कोरोना महामारीको चपेटामा परेको छ । सन् २०१९ को जनवरीमा महामारीको सुरुवाती समयको भन्दा धेरै संक्रमित भेटिन थालेपछि चीनले थप जोखिमबाट बच्ने निर्णय गरेको फ्रान्सेली समाचार संस्था एएफपीले जनाएको छ ।

‘एसियन ओलम्पिक परिषद (ओसीए) ले सेप्टेम्बर १० देखि २५ सम्म तीनको होङझोउ शहरमा आयोजना हुने १९औं एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरेको छ,’ प्रतियोगिताको आधिकारिक वेवसाइटमा लेखिएको छ । तर, त्यसअघि नै चीनको सरकारी सन्चारमाध्यम सीसीटीभीले प्रतियोगिता स्थगित भएको पहिलो सूचना प्रशारण गरेको थियो ।

नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले पनि एसियाली खेलकुद सार्ने निर्णयको जानकारी कमिटीमा आएको बताए । नेपालले एसियाली खेलकुदमा २३ खेलमा सहभागी हुने निर्णय गरेको थियो । सोही अनुसार मे दोस्रो सातासम्म खेलाडी दर्ताको समय रहेकाले अहिले सहभागी हुने सबै खेलहरुले राष्ट्रिय टिम छनोट गरिरहेका थिए ।

आयोजक संस्थाको आधिकारिक वक्तव्यमा प्रतियोगिताको नयाँ मिति पछि निर्धारण गरिने उल्लेख छ ।

चीनको सबैभन्दा ठूलो शहर संघाईमा कोरोना संक्रमणदर ह्वात्तै बढेपछि साताव्यापी लकडाउनको घोषणा गरिएको छ । एसियाली खेलकुदको आयोजनास्थल होङझोउ शहर संघाईबाट २ सय किलोमिटर दूरीमा पर्छ ।