नेपाली काँग्रेसको तर्फबाट बागी उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीबाट निष्कासित भएको घोषणा

बैशाख ३० गते हुने निर्वाचनमा सत्ता गठबन्धनको खिलापमा नेपाली काँग्रेसको तर्फबाट बागी उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीबाट निष्कासित भएको घोषणा गरेको छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक बनेकाहरूको पार्टी सदस्यता नरहेको सूचित गराएका हुन् ।

काँग्रेस वैशाख १९ गते विज्ञप्ति जारी गरी बागीलाई उम्मेदवारी निष्क्रिय बनाएर पार्टीका अधिकारिक तथा पार्टीले समर्थन गरेका उम्मेदवारको पक्षमा उभिन आग्रह गरेको थियो । उक्त आग्रह अस्वीकार गरेका बागीहरु काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम पार्टीबाट स्वतः निस्कासन भएको पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख
छ । काँग्रेस विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकहरूको नामावली केन्द्रमा पठाउन पनि जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।

‘त्यस्ता विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकहरूको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवार, प्रस्तावक, समर्थकहरूको अन्तिम नामावलीहरुको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपि सहित तत्काल केन्द्रमा पठाउनका लागि पार्टीको जिल्ला कार्यसमितिलाई यसै विज्ञप्ति मार्फत निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।