२२ वैशाख, चितवन । सत्ता गठन्धनले आज भरतपुरको चितवनमा गरेको पहिलो चुनावी सभामा बोल्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा कांग्रेस–माओवादी गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने बताएका छन् । तर रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे १०/२० वर्ष गठबन्धनलाई कायम राख्ने उनको प्रतिवद्धता छ ।
भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले २०७४ मा गठबन्धन तोड्नुको कारण सुनाए । मधेसका साथै चितवनमा पनि भोट ट्रान्सफर नभएकाले कांग्रेस सभापति शेरबहादुर देउवालाई भनेर गठबन्धन गरेको बताए ।
कांग्रेस नेता टेकप्रसाद गुरुङको नाम लिएर उनले भने, ‘तपाईहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देशको विकास र समृद्धिको आवश्यक हो भन्ने नबुझेर हालिँदैन हसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ । ’
‘यो राष्ट्रको आवश्यकता हो, जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यक हो भनेर चितवनबासी जनताले उत्साहपूर्ण ढंगले भोट हालेर यो टिमलाई विजयी गराउनुभयो म उत्साहित हुनेछ र यो गठबन्धनलाई १०-१५-२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ ।