दुध खपत भएपनि गाईलाई खुवाउने दाना पाउन समस्या

१६ वैशाख, गोरखा । कोरोना भाइरसका कारण लकडाउन भएपछि कृषकलाई समेत मर्का परेको छ । गोरखाको पालुङटार नगरपालिका–७ च्याङली स्थित कामधेनु गाईपालन केन्द्रमा लकडाउनका कारण दैनिक ४ सय लिटर दूध उत्पादन घटेको छ । सञ्चालक राजेन्द्रराज पन्तकाअनुसार लकडाउन अघि दैनिक १७ सय लिटर उत्पादन हुनेमा अहिले १३ सय लिटरमात्र उत्पादन भइरहेको छ ।
पर्याप्त मात्रामा दाना खुवाउन नसक्दा उत्पादन घटेको उनी बताउँछन् । उनको गाईफार्ममा अहिले २ सय २० वटा गाई छन् । जसमध्ये १ सय १० वटाले दुध दिन्छन् । लकडाउनले गर्दा चाहिएजति दाना चोकर अनि पराल ल्याउन पाएको छैन, त्यही खुवाउन नसकेर दिनको चार सय लिटर दुध घाटा भइरहेको छ,’ उनले भने ।
नारायणगढ, वीरगञ्ज, काठमाडौंलगायतका ठाउँबाट दाना ल्याउनुपर्ने भएकाले समस्या भएको उनले बताए । दानाका लागि अग्रिम भुक्तानी गर्नुपर्ने कारण थप समस्या भएको उनको भनाइ छ ।
‘पैसा नदिएसम्म दाना पठाउँदैन, पैसा पठाएको एक हप्तापछि बल्ल दाना आउँछ, तर अहिले लकडाउनले बैकसम्म पुग्न पनि समस्या, फेरि बैकहरु सधैं खुल्दैनन्,’ उनले भने । घाँस उत्पादन आफैले गरेकाले केही सहज भएको उनको भनाइ छ । उनले करिव २ सय ४० रोपनी क्षेत्रफलमा विभिन्न जातका घाँस लगाएका छन् । लकडाउनको समयमा यही घाँसको भरमा गाई पालिएको छ ।
दुध बेच्न समस्या छैन
उत्पादित दुध बेच्नका लागि भने कुनै समस्या नभएको पन्तले बताए । ‘अधिकांश दुध भक्तपुरको खरिपाटीको डेरीमा जान्छ, बाँकी रहेको क्यानमा लिन किसानहरु यहीँ आइपुग्छन्,’ उनले भने । उनीसँग तीन हजार लिटर क्षमताको दुध चिस्यान केन्द्र पनि छ । ‘उत्पादन भएको दुध यही केन्द्रमा राख्छु, अनि एक दिन बिराएर भक्तपुर पठाउँछु,’ उनले भने । गाईपालन गरेर देशभरकै सर्वाेत्कृष्ट किसान बनेका पन्तले २०५२ सालदेखि गाईपाल्दै आएका हुन् । तीन सय रोपनी क्षेत्रफलमा फैलिएको उक्त केन्द्रमा २० जनाले काम गर्छन् ।