केपी ओली झुट र भ्रमको खेती गर्छन्

सत्ता गठबन्धनका तर्फबाट चितवनमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली बयल गाडाका प्रवर्तक र भ्रमको खेती गर्ने पात्रमात्र रहेको टिप्पणी गरेका छन् । चितवनको भरतपुरमा संविधान र लोकतन्त्र समाप्त हुनबाट जोगाउन गठबन्धन बनाइएको पनि बताए । केपी ओलीको बखान गर्न जरुरी नभएको भन्दै सम्बोधन गर्न सुरु गरेका नेपालले हजार जिब्रो भएका शेषनागले समेत ओलीको बखान गर्न नसक्ने बताए ।

‘हजार जिब्रो भएका शेषनागले त सक्दैनन् मैले कसरी सक्छु रु बयल गाडाका प्रवर्तक केपी ओली हो । उनले गफमा विद्यावारिधि गरेका छन् । झुट र भ्रमको खेती गर्छन् होस् गर्नुहोला’, अध्यक्ष नेपालको भनाइ छ ।

उनले भरतपुरमा रेनु दाहालले गरेको कामको प्रशंसा गर्दै बधाई दिए । ‘बधाई छ रेनु दाहाललाई’, नेपालले बधाई दिँदै भने, ‘योग्यताका जाँचमा रेनु दाहालले उत्कृष्ट काम गर्नुभएको छ । सोही आधारमा गठबन्धनले उहाँलाई मेयरमा चयन गरेर सही निर्णय गरेको छ । र यो निर्णयअनुसार नै उहाँलाई जिताउन तपाई सम्पूर्ण भरतपुर नगरबासीहरु जुट्न आवश्यक छ ।’ उनले काँग्रेसभित्रको असन्तुष्ट पक्षलाई उम्मेदवारी फिर्ता लिन सुझाव पनि दिए ।