काभ्रेको बनेपाका एमालेका पुराना नेता तथा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले पार्टी परित्याग गरेका छन् । शनिवार पत्रकार सम्मेलन गर्दै श्रेष्ठले पार्टीको पद र नगरप्रमुख पदबाट पनि राजीनामाको घोषणा गरेका हुन् । आइतबार सार्वजनिक बिदा परेकोले सोमबार उपप्रमुखलाई भेटेर राजीनामा पत्र दिने श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
उनले एमालेभित्र छलछाम, धोका, अन्तर्घाती काम भएकोले आफू सो दलभित्र बस्न नसक्ने भन्दै राजीनामा गरेको बताए । आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनमा पुन बनेपा नगरपालिकाको प्रमुखका लागि उम्मेदवारी दिने तयारी गरे पनि पार्टीका स्थानीय नेताले धोका दिएको उनको भनाई छ ।
उनले पार्टीका नेता रत्नकुश रञ्जितले वैशाख ९ गतेसम्म सल्लाह गरेर पुनः आफूलाई बनेपा नगरप्रमुखको उम्मेदवार बनाउँछु भनेर कसम खाएपनि अन्तिम समयमा आएर धोका दिएको बताए । उनले भने–‘म ११ वर्षसम्म बनेपाको अध्यक्ष भएर पार्टीलाई बलियो बनाएको मान्छे हुँ । अहिले पार्टीभित्र अन्याय हुन थाल्यो, झुक्याएर काम गर्न थालियो, कोही अन्तर्घाती निस्किए, कोही झुक्याएर काम गर्ने निस्किए । अन्तिम समयमा तपाईंलाई नै मेयरको उम्मेदवारी दिन्छु भनेर चण्डेश्वरी माईको कसम खाएर अन्तरघात गरे । बरु यसपटक तपाईंलाई टिकट छैन भनेको भए के बिग्रिन्थ्यो र रु’
रत्नकुश रञ्जितले आफूलाई धोका दिएर आफै मेयरको उम्मेदवार बनेको भन्दै श्रेष्ठले गुनासो गरे । यस्तै एमाले काभ्रे जिल्ला सदस्य तथा बनेपा नगर इन्चार्ज हरिशरण दाहालले आफूलाई धोका दिएर आफ्नै श्रीमती विमला सापकोटा दाहाललाई उपप्रमुख बनाएको उनको आरोप छ । झुक्याउने, ढाँट्ने, छलछाम गर्ने पार्टीमा नबस्ने भन्दै आफूले राजीनामा दिएको श्रेष्ठले बताए ।