एन्फाका तीन उपाध्यक्ष र एक सदस्यसहित चार जनाले तत्काल कार्यसमिति बैठक बोलाउन माग

१६ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका तीन उपाध्यक्ष र एक सदस्यसहित चार जनाले तत्काल कार्यसमिति बैठक बोलाउन माग गरेका छन् ।

राष्ट्रिय फुटबल टिमका खेलाडी र मुख्य प्रशिक्षकबीच उत्पन्न विवाद अत्यन्त संवेदनशील विषय भएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा, वीरबहादुर खड्कासहित केन्द्रिय सदस्य दावा लामाले बैठक माग गरेका हुन् ।

खेलाडी र प्रशिक्षकको विवाद अत्यन्त संवेदनशील विषय भएको भन्दै उनीहरुले तत्काल बैठक बसेर निर्णय गर्नुपर्ने बताएका छन् ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मानसिक रुपमा दबाव दिने गरेको भन्दै एशिया कप छनोटको तयारीमा रहेका १० जना खेलाडीले प्रशिक्षण छाडेका
छन् ।

प्रशिक्षक अल्मुताइरीले भने उनीहरुको सट्टा अरु नयाँ खेलाडी थपेर प्रशिक्षणलाई निरन्तरता दिइरहेका छन् ।