पहिलो त्रैमासिकमा विश्व बजारमा पर्सनल कम्प्युटरको उत्पादन घट्यो

 

 

१६ वैशाख, काठमाडौं । सन् २०२२ को पहिलो त्रैमासिकमा विश्व बजारमा पर्सनल कम्प्युटरको उत्पादन घटेको छ ।

सन् २०२१ को तुलनामा यो त्रैमासिकमा पर्सनल कम्प्युटरको उत्पादन ४।३ प्रतिशतले घटेको हो । यो अवधिमा विश्व बजारमा ७ करोड ८७ लाख गोटा पीसी उत्पादन गरी बजारमा पठाइएको रिपोर्ट बिहिबार सार्वजनिक भएको छ ।

विश्वका विभिन्न ब्राण्डका ल्यापटपको उत्पादन कारखाना रहेको चीनको सांघाई तथा कुनशानमा कोभिड १९ को नयाँ लहरका कारण भएको लकडाउनका लागि अप्रिल महिनामा ल्यापटप उत्पादन तथा शिपमेन्टमा झनै असर पुग्ने बताइएको छ ।

काउन्टरप्वाइन्टले सार्वजनिक गरेको रिपोर्ट अनुसार विश्वव्यापी मुद्रास्फिती तथा क्षेत्रीय द्धन्दले गर्दा पर्सनल कम्प्युटरको मागमा अनिश्चितता पैदा गरेको र त्यसले कम्प्युटरको उत्पादन र शिपमेन्टमा असर गरेको छ ।

सन् २०२२ भरमा बजारमा पठाइने अर्थात् शिपमेन्ट गरिने पर्सनल कम्प्युटरको संख्याका सम्बन्धमा सन् २०२१ के अन्त्यमा गरिएको प्रक्षेपण पूरा नहुने देखिएको रिपोर्टमा उल्लेख छ ।

रिपोट अनुसार सन् २०२२ को पहिलो त्रैमासिकमा विश्वमा बिक्रि भएका पर्सनल कम्प्युटरमा पहिलो स्थानमा लेनोभो छ । यस अवधिमा लेनोभोले १ करोड ८२ लाख गोटा पर्सनल कम्प्युटर बजारमा बेच्न सकेको छ जुन कूल बजार हिस्साको २३।१ प्रतिशत हो ।

दोश्रो स्थानमा २०।२ प्रतिशत सहित एच पी रहेको छ भने तेश्रो स्थानमा डेल रहेको छ ।

एम वान म्याकबुकको सफलतासँगै एप्पलले पर्सनल कम्प्युटरको बजारमा सन्तोषजनक वृद्धिदर हासिल गरेको छ । गत वर्षको पहिलो त्रैमासिकमा भन्दा एप्पलका पर्सनल कम्प्युटरको बिक्रि यो त्रैमासिकमा ८ प्रतिशतले वृद्धि भएको छ । एजेन्सीको सहयोगमा