ओलीले हिरा छाडेर किरा बटुल्न थाले

काठमाडौं । केपी शर्मा ओलीलाई लामो समयदेखि साथ दिँदै आएका नेता तथा कार्यकर्ताले समेत नेकपा (एमाले)बाट विद्रोह गर्न थालेका छन् । एमालेमा नवधनाढ्य, कम्युनिष्ट आन्दोलनमा कुनै योगदान नै नभएका र कम्युनिष्ट आचरणसमेत नभएकालाई काखी च्याप्न थालिएपछि संकटको बेलामा साथ दिएकाहरूले समेत ओलीको साथ छाड्न थालेका छन् ।

ओलीलाई २५ वर्षदेखि निरन्तर साथ दिँदै आएका पिताम्बर तिम्सिनाले पनि एमालेबाट विद्रोह गरेका छन् । राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष, नेपाल ओलम्पिक कमिटीका उपमहासचिव रहेका तिम्सिना सयौँ खेलकर्मीसहित नेकपा (एकीकृत समाजवादीमा) आवद्ध भएका छन् । खेलकुदको राजनीतिमा निकै सक्रिय र प्रभावशाली व्यक्तित्वको रुपमा चिनिने तिम्सिनासँग दृष्टिले गरेको कुराकानी प्रस्तुत यहाँ उर्तान चाहन्छौ :

केपी शर्मा ओलीलाई निरन्तर २५ वर्ष साथ दिनुभयो । अहिले नेकपा (एमाले)बाट विद्रोह गर्ने अवस्थामा कसरी पुग्नुभयो ?
मैले लामो समयसम्म नेकपा (एमाले)को इमान्दार, वफादार, अनुशासित कार्यकर्ताको रुपमा काम गरेँ । तर, पछिल्लो समय एमाले नेतृत्वले लोकतन्त्रमाथि नै धावा बोलेपछि, त्यसप्रति विमति राखेर मैले एमालेबाट विद्रोह गरेको हुँ । संविधानप्रति नै धावा बोलेर असंवैधानिक रुपमा दुई–दुई पटक संसद विघटन गरेपछि एमालेका इमान्दार कार्यकर्ताको मन फाटेको छ । त्यहीबेलादेखि मेरो विद्रोहको रुप सुरु भएको हो ।

चुनावको मुखमै नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेश गर्नु भएको छ, कतै एमालेमा भाग नपाएर त होइन ?
राजनीतिका अनेक प्रश्न अनुत्तरित हुन्छन । पिताम्बर तिम्सिनाले भाग खोजेर कतै मेयर पद मागेको थियो कि भन्ने भ्रम पनि परेको हुन सक्छ । चुनावी प्रतिष्पर्धालाई जोड दिएको थियो कि भन्ने पनि हुन सक्छ । त्यो विलकुल होइन । मैले कही कतै पनि भाग खोजेको छैन । अहिलेको अवस्थामा म चुनावको प्रतिष्पर्धी हुँदै होइन । भाग खोजेर मैले विद्रोह गरेको होइन ।

त्यसो भए विद्रोह केका लागि गर्नुभयो त ?
विद्रोह गर्नुको कारण मन फाटेरै हो । कम्युनिष्ट आन्दोलनको रक्षाका निम्ति इमान्दार, वफादार, अनुशासित कार्यकर्ताले एमालेबाट विद्रोह गर्नुको विकल्प छैन । केपी कमरेडले वरिपरीका हिराहरू चिन्नुभएन । ती हिराहरूलाई टिप्ने काम पनि गर्नुभएन । सुरक्षित गर्ने काम पनि गर्नुभएन । ओलीले किराहरू भेला गर्नुभयो । ती किराहरू कति दिनसम्म ओलीसँग रहन सक्छन ? जुनदिन हिराहरूको चमक आउँछ, हिरासँग ठोक्किएर किरा मर्दा ओली कमरेड एक्लो हुनुहुनेछ ।

ओली एक्लो हुने दिनगन्ती सुरु भएकै हो त ?
ओलीलाई संकटको बेला, अभावको बेला साथ दिनेहरू अहिले नगन्य ठाउँमा छन् । ओली गुट सानो हुँदा निकै लामो समय साथ दिनेहरू अहिले ओलीको वरिपरी छदै छैनन् भन्दा पनि हुन्छ । २५ वर्षअघि ओलीलाई साथ दिनेहरूलाई भेट्नुस्, उहाँहरूको पीडा तपाईंले बुझ्नुहुनेछ । ओलीले पछिल्लो समय विचौलिया, व्यापारी, नवधनाढ्यहरू, कम्युनिष्ट आन्दोलनमा कुनै योगदान नै नभएकाहरू, जसले माक्र्सवाद, लेनिनवाद बुझेकै छैनन्, तिनीहरूलाई च्याप्नुभएको छ । ओलीले एमालेलाई कम्युनिष्ट पार्टीको आवरणमा गैरकम्युनिष्ट कित्तामा पुर्याएपछि म विद्रोहको ज्वाला भएर निस्किएको
हुँ ।

त्यसो भए अब एमाले कम्युनिष्ट पार्टी रहेन ?
हाम्रो ठम्याइँ यही हो । एमाले अब कम्युनिष्ट पार्टी रहेन । एमालेको व्यवहार र गतिविधि हेर्दा अब उ कम्युनिष्ट पार्टी रहने सम्भावना पनि देखिदैन । एमाले यस्ता मानिसहरूको घेराबन्दीमा परिसकेको छ, जुन अवस्था भनेको माकुराको जालोभित्र झिंगा अड्केको जस्तै हो ।

ओलीले आफुमा आएको विचलन बुझेका छैनन् कि नियोजित रुपमा व्यवस्था मास्न लागिपरेका छन् ?
ओलीजस्तो देश, समय, जनता बुझेको नेता त्यो दिनसम्म कोही पनि थिएन, जतिबेलासम्म ओली दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको थिएन । टिट फर ट्याट, टाढैबाट मनोविज्ञान बुझ्ने नेता ओली दोस्रो पटक प्रधानमन्त्री बनेपछि ती सबै गुण हराएर गयो । दोस्रो पटक प्रधानमन्त्री भएपछि ओली यस्तो घेराबन्दीमा पर्नुभयो, जहाँबाट ओली बाहिर निस्कनै
सक्नुभएन । म आफुनै कन्फ्युजमा छु, ओरिजिनल केपी ओली हुन् कि डुब्लिकेट केपी ओली ! म त ओरिजिनल ओली खोजिरहेको थिएँ, हेरिरहेको थिएँ । ओरिजिनल ओली भएको भए, सायद नेपाल कम्युनिष्ट पार्टी विभाजित हुने थिएन । त्यसपछि एमाले पनि विभाजित हुने थिएन । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जतिको सालीन, त्यागी नेतालाई व्यवस्थापन गरेर लाने जिम्मा ओलीको हुनुपथ्र्यो । तर, ओलीले त्यो गर्न सक्नुभएन । कुन ओलीले त्यो गर्नुभयो, मलाई थाहा छैन ।

पार्टीलाई एकतावद्ध बनाएर लान ओलीले सकेनन् वा चाहेनन् ?
ओलीले चाहेको भए व्यवस्थापन हुन्थ्यो । पहिलोपटक प्रधानमन्त्री हुँदा ओलीको शिष्ठता, सरलता, व्यवहारिकता, राष्ट्रवादी धारका कुरा, विदेशी शक्तिसँग डटेर उभिएको कुरा हेर्दा ओलीलाई राजनेताको संज्ञा दिएकै हो । तर, दोस्रोपटक प्रधानमन्त्री भएपछि ओलीमा ती गुण हराउँदै गए । ओलीमा अहंकार, दम्भ र घमण्ड यति बढ्यो कि आफ्नै सहकर्मीलाई समेत अन्यायपूर्ण व्यवहार गर्न थाले । बालुवाटारमा सामन्त गोयलसँग मध्यराति गोप्य भेटवार्ता गर्ने अवस्थामा ओली पुग्नुभयो ।

ओलीको राष्ट्रवाद नक्कली थियो त ?
सामान्य कार्यकर्ताले त्यसरी बुझ्दैनन् । जनताले पनि त्यसरी बुझ्दैनन् । एजेन्डागत रुपमा जनताले बुझछन् र त्यही ढंगबाट जवाफ दिन्छन । जनताले ओलीलाई पत्याएकै थिए, तर दुईतिहाइको सरकारलाई छिन्नभिन्न बनाउने काम ओलीबाट
भयो । दुईतिहाइको सरकारलाई सडकमा पुर्याएर सबैभन्दा बढी क्षति त ओलीलाई नै भयो नि । युएनको बैठकमा अमेरिकामा उपरखुट्टी लगाएर भाषण गर्ने तागत राख्ने ओली आज बालुवाटारबाट बालकोटको बर्दलीमा थन्कीसक्नु भएको छ । ओली पार्टी व्यवस्थापन गर्न नसकेका कारण बा, बा, बा, भन्नेको खोजीमा भौतारिरहनुभएको छ ।

ओलीको दाबी त बहुमत ल्याएर बाजागाजासहित सिंहदरबारको मूल ढोकाबाट छिर्छु भन्ने छ त ?
ओलीको बहुमत त कमल थापाको राप्रपा र एकनाथ ढकालको परिवार दलसँगको एमाले साँठगाँठबाटै बुझिन्छ । बहुमतको सम्भावना बोकेको भए कमल र एकनाथको शरणमा ओली पक्कै पुग्नु पर्ने थिएन । कम्युनिष्ट शक्ति बाहिरिने, गैरकम्युनिष्टलाई भित्र्याउने गरेबाटै एमाले कस्तो पार्टी बन्दै छ भन्ने बुझिन्छ । बहुमत ल्याउने ओलीको गफ जनतामा भ्रम फैलाउनेबाहेक केही पनि होइन । ओली स्वयंले झापाबाट चुनाव जित्न पनि गाह्रो हुने अवस्था आइसकेको छ ।

एकीकृत समाजवादीमा गएका नेता तथा कार्यकर्ताको क्षति माओवादीबाट पूर्ति गरेको दाबी एमालेका नेताहरूको छ नि ?
एमालेले एक पाथी धान पैचो ल्याएका थियौँ, एक पाथी नै फिर्ता दिन्छौँ भन्ने हिसाबले कुरा गरेको भए मेरो भन्नु केही छैन । राजनीति धान–गहुँ पैचो ल्याएको जस्तो होइन, त्यस्तो हुनै सक्दैन । माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीले एमालेमा पारेको भ्वाङ रामबहादुर थापा बादलहरू आएपछि पुरियो भन्नु एमालेको आत्मरती हो । त्यो भ्रममा नपर्दा हुन्छ । संगठित सदस्यहरू, क्रियाशील सदस्यहरू पार्टीमा त्याग गरेका नेतालाई हेर्दा बादलले बार्दलीमा पुर्याएका लिफ्लेटको भ्रमले अब जनता झुक्किनेवाला छैनन् ।

भनेपछि एमाले अब ओरालो गतिमै हो ?
एमाले एकचोटी सगरमाथाको चुचुरोमा पुगेको थियो । त्यहाँ अडिरहन उसलाई अक्सिजनले पुग्ला र ? एमाले त डाउन हुनैपर्छ । त्यो क्रममा सही ढंगले अवतरण हुन्छ या हिउँमा पुरिएर सकिन्छ भन्ने थाहा छैन । एमाले एकपटक सगरमाथामा पुग्यो, दोस्रो सगरमाथा विश्वमा छैन ।

कतिपयले एमालेलाई अदालतले बनाइदिएको पार्टी भन्छन् । तपाईंलाई के लाग्छ ?
अदालत र निर्वाचन आयोगले एमालेलाई नबचाइदिएको भए आज सम्भवतः त्यसका कुनै अस्तित्व रहँदैन थिए । अदालतबाट माग दाबी नै नभएको विषयमा फैसला गराएर, सूर्य चिह्न कब्जा गर्दै एमाले जोगाउने काम भएको छ । त्यसैको शिराबाट थोरै चमक देखिएको मात्रै हो । एमालेको अहिलेको अवस्था सम्भव नै थिएन ।

तपाईंले २५ वर्षदेखि ओलीको संगत गर्नुभयो । सेटिङमा ओली पहिलेदेखि नै माहिर हुन ?
म हिजो एमालेको इमान्दार, निष्ठावान, स्वाभिवान, प्रतिवद्ध क्याडर थिए । आज अर्को पार्टीमा गएपनि ओलीका भित्री कुरा म अहिले खोल्न चाहन्नँ ।

हिजो ओलीलाई स्थापित गर्न संघर्ष गर्नुभयो, आज फेरि एकीकृत समाजवादी बनाउने अभियानमा लाग्नुभयो । जिन्दगी संघर्षमै बित्ने भयो ?
आजभन्दा ठ्याक्कै २५ वर्षअघि ओलीले आफ्नो गुट निर्माण गर्दा पहिलोपटक सात जना नेता मात्रै बस्नुभएको थियो । सहयोगीको भूमिका निर्वाह गर्ने आठौँ केटो म थिएँ । संकटको बेला समूह सानै हुन्छ । चुनौतीको बेला अप्ठेरो नै हुन्छ । यो कुरा सबै क्याडरहरूले बुझेका हुन्छन । हामीले त्यही बुझेका छौँ । समाजवादी पार्टीको त ७७ वटै जिल्लामा संरचना बनिसकेको छ । त्यसलाई उर्जा भर्ने काम हामी गर्छौँ । ७७ वटै जिल्लामा अब हामी स्वयंसेवक दस्ता बनाउछौँ । युवा परिचालन गछौँ । पार्टी निर्माण भइसकेको छ, अब हामी जनमत सिर्जना गछौँ । फेरि पनि सत्ताको साँचो बोक्ने पार्टी नेकपा (एकीकृत समाजवादी) नै हो । सत्ताको साँचो कमलमै छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तपाईंलाई पार्टीमा भित्र्याउँदा ‘ओलीको एउटा खुट्टा भाँचियो’ भन्नुभएको थियो ? नेतालाई टेको दिने काम पनि गर्नुहुन्छ ?
श्रद्धेय अध्यक्ष, सम्मानीय पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई म धन्यवाद दिन चाहन्छु । म अध्यक्ष नेपालले भने जस्तै
हुँ । म उहाँलाई एउटा शक्तिको रुपमा उदय भएर सहयोग गर्छु । म सातवटै प्रदेश, ७७ वटै जिल्लाको संरचनामा पुग्ने प्रयत्न गर्छु । युवाहरूलाई एकीकृत गर्छु । पार्टीको सुरक्षा दस्ताहरू निर्माण गर्छु । मतदातालाई आकर्षित गर्ने अभियानमा लाग्छु । एमालेबाट विद्रोह गर्न धेरै साथीहरूले खुट्टा उचालेर बसेका छन् । उनीहरूलाई पार्टीमा भित्र्याउने काम अभियानकै रुपमा अगाडि बढाउने छु । हिजो ओलीलाई सामथ्र्यले भ्याएसम्म पागल भएरै सहयोग गरेको हुँ । अब त माधव नेपाललाई सहयोग गर्न महापागल भएर लाग्नुपर्छ, लाग्छु ।

तपाईंको पछिल्लो निर्णयलाई खेल क्षेत्रले पनि आश्चर्यजनक रुपमा हेरेको छ । पिताम्बर तिम्सिनाले अब खेलकुद क्षेत्र छाडेको हो ?
युवा खेलाडी साथीहरू, प्रशिक्षक साथीहरू, सातै प्रदेशमा विभिन्न तहमा रहेका खेलाडी साथीहरूलाई व्यवस्थापन गर्ने व्यवस्थापक साथीहरूलाई म अनुरोध गर्न चाहन्छु– म जुन ठाउँमा, जुन नीति लिएर गएको छु, तपाईंहरूको भविश्य सुनिश्चित गर्ने एउटा अगुवा, अभियन्ता र व्यवस्थापकमै रहन्छु । स्वाभाविक रुपमा खेलकुद क्षेत्रलाई अंगिकार गर्नका निम्ति म नेकपा (एकीकृत समाजवादी) पार्टीको सिपाई छु । पार्टीले भर्खरै स्थानीय तहको घोषणापत्र सार्वजनिक गरेको
छ । पार्टीमा रहेका खेल क्षेत्रसँग सम्बन्धित विभिन्न साथीहरूसँग पनि मेरो कुराकानी भइरहेको छ । अबको दिनमा नेपालको खेलकुदलाई नयाँ मोडालिटीबाट अगाडि बढाउन पार्टीमा जोडदार कुरा उठाउँछु ।

त्यो कसरी सम्भव छ ?
नेपालमा टे«निङ भेन्यू अत्यन्त कम छन् । त्यसलाई व्यवस्थित गरेर अगाडि लानुपर्छ । दोस्रो, हामीकहाँ प्रशिक्षक न्यून अवस्थामा हुनुहुन्छ । त्यसतर्फ कसैको ध्यान गएको छैन । जुन खेलमा ट्रेनिङ गराएर खेलाडी उत्पादन गर्नुपर्ने हो, त्यो नगन्य अवस्थामा पुगेको छ । उदाहरणका लागि, एथलेटिक्स संघमा आजभन्दा पाँच वर्ष अगाडि ७२ जना प्रशिक्षक हुनुहुन्थ्यो । आज २२ जनामात्र हुनुहुन्छ । अरु सबैले अवकाश पाउनुभयो । नयाँलाई हामीले क्षमता विकास गरेर नियुक्त गर्ने ठाउँ नै छैन । प्रशिक्षकहरू दर्भिलो र अनुभवी निकाल्नका निम्ति स्पोर्टस् एकेडेमी, स्पोर्टस् युनिभर्सिटी बनाउनै पर्छ । त्यसको पहलकदमी म गर्छु । खेलकुदकर्मीहरूलाई निराश हुन दिने छैन ।

तपाईंको फोकस खेलकुदमै हुन्छ कि समग्र राजनीतिमा हुन्छ ?
खेलकुद र युवालाई मैले जोड गर्छु । पार्टीका नेता तथा कार्यकर्ता र मतदाताको सुरक्षा गर्ने मेरो पहिलो प्राथमिकता
रहन्छ ।

दृष्टि न्यूजबाट