प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यमलाई कारवाही

प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यमलाई कारवाही गरेको छ । त्यस्तै दर्ता नभएका ४ वेबपोर्टललाई मुलुकभित्र सम्प्रेषण हुन नसक्ने बनाएको छ । सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई गराइँदै आएको उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन आचारसंहिता लागु भएपश्चात् काउन्सिलले देशभरका सञ्चार माध्यमहरूबाट आचारसंहिता पालना भए÷नभएको विषयमा विशेष अनुगमन गरिरहेको छ । २०७८ चैत २६ गतेदेखि हालसम्म आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यममध्ये ४ वटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा २ सञ्चार माध्यमबाट पेस भएको स्पष्टीकरण चित्त बुझ्दो नदेखिएकोले प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएकोमा सोही अनुसार प्रकाशन भएको छ । २ वटाले आगामी दिनमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्ने र सजग रहने प्रतिबद्धता जनाएका छन् । यसैगरी ६ पत्रपत्रिका, ३ रेडियो, ५ टेलिभिजन र १४ अनलाइन गरी २८ वटालाई निर्देशन दिइएको र २ अनलाइनबाट निर्देशनपश्चात पनि प्रतिकूल सामाग्री पुनः सम्प्रेषण भएको देखिएकोले सचेत गराइएको छ । त्यस्तै ४ वटा सञ्चार माध्यमलाई ध्यानाकर्षण गराइएको छ ।

दल तथा उम्मेदवारका बारेमा सूचना तथा समाचार सम्प्रेषण गर्दा विशेष ध्यान पुर्याउनु सञ्चार माध्यमको कर्तव्य भएकाले गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पु(याउनेगरी सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सजग रहन विज्ञप्तिमा भनिएको छ ।