१३ वैशाख, काठमाडौं । बैशाख ३० गते हुुन गइरहेको देशभरका स्थानीय तहमा उम्मेद्वार मनोनयनको संख्या १ लाख ३७ हजार भन्दा बढी पुगेको छ ।
निर्वाचन आयोगले अद्यावधिक गरेको विवरण अनुसार देशभर सबै पदमा गरी १ लाख ३७ हजार ५८ जनाले मनोनयन दर्ता गराएका छन् । विवरण थपिने क्रम जारी छ ।
देशभरका २९३ नगरपालिकामा ३ हजार २७६ जनाले नगरप्रमुख (मेयर) पदमा उम्मेद्वारी दिएका छन् । उपप्रमुख (उपमेयर) पदमा २ हजार ९ जनाको मनोनयन परेको छ ।
यस्तै ४६० गाउँपालिकामा अध्यक्षका लागि ३ हजार २६४ जनाको मनोनयन परेको छ । २ हजार २९७ जनाले उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् ।
स्थानीय तहका ३५ हजार २२१ पदमा यही वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते देशभर मनोनयन दर्ता गरिएको थियो ।