गठबन्धनको निर्णय विपरीत कांग्रेस कार्यकर्ता गए कारबाही हुन्छ

७ वैशाख, बुटवल। स्थानीय चुनाव नजिकिदै जाँदा सत्ता गठबन्धन दल पनि तालमेलको खाका बनाउदै सहमति गर्दै अगाडी बढीरहेका छन् । आज मात्र सत्तारुढल पाँच दलीय गठबन्धनले महानगरपालिका र उपमहानगर पालिकाको सहमति गरेपछि बिशेषतः काँग्रेसजनमा विवाद देखिन थालेपछि गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दलका नेताहरु गठबन्धनको निर्णय विपरीत गए कारबाहीमा पर्ने बताएका छन् ।

उनले आज रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै उनले सत्तारुढ दलहरुबीच गठबन्धन गर्नु कांग्रेस केन्द्रीय समितिको निर्णय नै भएको दावी गरे ।

गठबन्धनविरुद्ध काम गरे स्थानीय तहमा मात्रै नभई प्रदेश र प्रतिनिधि सभा सदस्यको उम्मेदवार पनि बन्न नदिने गरी पार्टीले निर्णय लिने खाणले बताए ।

‘नेपाली कांग्रेस गठबन्धनको निर्णय कार्यान्वयनमा प्रति प्रतिबद्ध छ’, खाणले भने, ‘पार्टीको निर्णय विपरीत जाने नेता कार्यकर्ताहरुको गतिविधि नोटिस गरिएको छ, उनीहरुलाई कारवाही गरिने छ ।’

गृहमन्त्री खाणले वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुदैन कि भन्ने आशंका नराख्न आग्रह गरे । निर्वाचनमा सहभागी नभएका दलहरुलाई स्थानीय तहको निर्वाचनमा भाग लिन सरकारले आह्वानसमेत गरेको भन्दै केही दलहरुसंग सरकार बारम्बार छलफलमा रहेको उनले बताए ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पुनर्वहाली गर्ने सर्वोच्चको निर्णयलाई सरकारले सम्मान गर्ने गृहमन्त्री खाणको भनाइ छ ।

गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचनको सुरक्षाको लागि हवाइ गस्ती गरिने समेत बताए । अहिले एकै चरणमा स्थानीय तहको निर्वाचन हुने भएकाले सुरक्षालाई मजबुत बनाउन नेपाली सेनासँग भएका हेलिकप्टर र निजी हेलिकप्टरको प्रयोग गरेर गस्ती बढाइने उनले बताए ।

सुरक्षा चुनौती देखिएका स्थानमा तत्काल सशस्त्र प्रहरी बललाई पठाउने गरी हेलिकप्टरको व्यवस्थापन गरिने गृहमन्त्री खाणले बताए ।