Breaking News

नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वको विवाद मिलाउन नसक्दा बैठक लम्बिए

७ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वको विवाद मिलाउन नसक्दा बैठक लम्बिएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्जको नेतृत्व नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले दाबी गरेपछि सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।

नेपालगञ्कोनगरपालिका जनता समाजवादी पार्टीले लिने सहमति भएको बैठकमा सहभागी एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले बताए । तर नेपालगञ्जमा भने कांग्रेस र जसपाबारेमा कुरा अड्किएको छ । मंगलबारको बैठकमा नेपालगञ्ज नेपाली कांग्रेसलाई छाडेर जनकपुर लिन जसपा तयार भएको थियो । तर, नेपाली कांग्रेसले जनकपुर पनि छाड्न मानेको थिएन ।

गठबन्धनबीच स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सहमति भएको छ । त्यस्तै माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादीले वीरगंज महानगरपालिकाको नेतृत्व लिने सहमति भइसकेको छ ।

उपमहानगरपालिकातर्फ नेपाली कांग्रेसले धरान, इटहरी, कलैया, तुलसीपुर, बुटवल र धनगढीको नेतृत्व लिने सहमति भइसकेको छ । त्यस्तै माओवादी केन्द्रले जितपुर–सिमरा र घोराही, एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको नेतृत्व लिने सहमति पनि भइसकेको नेताहरुले बताएका छन् ।