मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा ५१९ विद्यार्थी दीक्षित

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह हिजो सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हिजो सम्पन्न दीक्षान्त समारोहमा करिब ५१९ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयले पाँच सङ्कायका विद्यार्थीलाई सो अवसरमा स्वर्ण पदकसमेत प्रदान गरेको छ ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षता तथा सन् २०१४ को नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीको प्रमुख आतिथ्यतामा सुर्खेतको वीरेन्द्रनगर कुइने पानीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा दीक्षान्त समारोह सम्पन्न भएको हो । समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको समेत सहभागिता रहेको थियो ।

दीक्षान्त समारोहमामानविकी तथा समाजशास्त्र सङ्कायका १५२, व्यवस्थापनका १२२, शिक्षाशास्त्रका ८५, विज्ञान तथा प्रविधिका १५ र इन्जिनियरिङका १४५ विद्यार्थी दीक्षित भएकाछन् । विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र विद्यावारिधि उपाधि हासिल गरेका विद्यार्थीलाई दीक्षित गरेको हो । २०७४ सालको पहिलो दीक्षान्त समारोह असार १९ गते सम्पन्न गरेको थियो ।