Breaking News

गणतन्त्र विरोधीहरु एउटै बयलगाढामा

देशमा यतिखेर चुनावी सरगर्मी ह्वात्तै बढेको छ । स्थानीय तहको निर्वाचन जति–जति नजिकिँदै छ, त्यति–त्यति नेताहरुमा पराजित पो भइने हो कि ? भन्ने त्रासको हाउगुजी पनि उत्तिकै रफ्तारमा बढेको छ ।
एकले अर्कोलाई उचाल्नेदेखि सकेसम्म उठ्नै नसक्ने गरी पच्छार्नेसम्मका गतिविधि प्रतिस्पर्धात्मक रुपमा प्रदर्शन भइरहेका छन् ।

बाहिर एक्लाएक्लै चुनाव लड्ने घोषणा गरिरहेका दलहरु भित्रभित्रै लागे पुगेसम्म गठबन्धन गर्नैपर्ने जुक्ति जुटाउन होमिएका छन् । अरु देशको चुनावी अभियानमा महंगी, कालोबजारी, भ्रष्टाचार तथा बेरोजगारीलगायतका विषयहरु चुनावी मुद्दा बन्छन् ।

हाम्रोमा भने, हावा गफ र बेइमानी प्रवृत्ति सधैं अग्रभागमा उभिएको हुन्छ । यतिबेला प्रायः सबै दलका केन्द्रीय नेताहरु गाउँ–गाउँमा छिरेका छन् । जनताका समस्या समाधानका गजेडी गफ सुनाउन उनीहरुलाई भ्याइनभ्याई छ । अलिक समय तिनीहरुको गफ सुन्ने हो भने– आफू नै दुनियाँको अबुझ र अञ्जान रहेछुजस्तो महसुस हुन्छ । खासमा नेताहरुले भाषण जस्तै देशको हितमा काम पनि गरिदिएको भए यसरी गजेडी गफ सुन्नुपर्ने थिएन ।

सत्तारूढ दलले त पहिले नै चुनावी गठबन्धनको प्रतिबद्धता जनाएका थिए । केपी ओलीले संसद् विघटन गरेपछि काँधमा काँध मिलाएको पाँच दलीय गठबन्धनले कुनै पनि हालतमा उनको प्रतिगामी सोंचलाई परास्त गर्न एकढिक्का भएर अघि बढ्ने अठोट उतिबेलै व्यक्त गरेको थियो । तर, विगतदेखि नै २०७४ सालको मतपरिणाम सम्झिएर थुक निलिरहेको एमाले अध्यक्ष ओलीले भने, आफूहरु कसैसँग चुनावी तालमेल गर्न आवश्यक नभएको जिकिर गर्दै आएका छन् ।

ओलीले निर्वाचन आयोगमा दार्ता भएका सबै दलसँग सिंगल–सिंगल चुनाव लड्ने घोषणा धेरैपटक गरिसकेका छन् । साथै एमालेसँग एक्लै चुनाव लड्ने तागत कसैसँग नरहेको भन्दै २०७४ सालकै सपनामा रमाउँदै छन् ।

यद्यपि, जहिल्यै भन्ने एउटा र गर्ने अर्को बानी परेका ओली अहिले भने गठबन्धनको बिन्तीपत्र बोकेर राजावादीहरुको बलेनी चाहार्दै छन् । सामान्यतया अन्य, राजनीतिक दलहरु फुट र विभाजन पछि सानो हुने गर्छन् । तर एमाले अध्यक्ष ओलीले भने आफ्नो पार्टी फुटेपछि झनै ठूलो र शक्तिशाली भएको गफ चुटिरहेका छन् ।

हुन त जे हो र भइरहेको छ– त्यसको विपरीत बोल्ने यिनको पुरानै लत हो । बाहिर गठबन्धनलाई सोत्तर पार्छु भन्ने ओली भित्रभित्रै त्रासको आगोले भस्मैसँग डढेका छन् । त्यसैले मनशान्तिका लागि गठबन्धन बारे टिठलाग्दा भविष्यवाणी गर्दै हिँडेका छन् ।

जेहोस एमाले–राप्रपा अर्थात्, गणतन्त्र विरोधी यी दुई शक्तिहरु एउटै कित्तामा उभिएर हिँड्नु नै उनीहरुका लागि र देशकै लागि पनि लाभदायक हुनेछ । बेलाबेला आफूलाई संघीय लोकतान्त्रिक गणतन्त्रको दह्रो पक्षपाती रहेको दावा गर्ने एमाले अध्यक्ष ओली सारमा यो संघीय लोकतान्त्रिक गणतन्त्रको खुंखार विरोधी हुन भन्ने विभिन्न घटनाक्रमहरुले पुष्टि गरेकै छ ।

मध्यरातमा ‘सामन्त गोयल’लाई ओछ्यानमै बोलाएर ‘दुईतिहाइ जनमतमाथि डढेलो झोस्नु, बाहिर छाती उधिन्दै अरुलाई सिंगल–सिंगल आइजा भन्नु र भित्रचाहिँ लखतरान परेर लुसुक्क–नागार्जुनतिर छिर्दै पिर बिसाउनु, आदि विषयहरुबाट ओली राजतन्त्र स्थापित गर्न मरिहत्ते गर्दैछन् भन्ने कुराका सामान्य उदाहरण हुन् ।

हुन त उनी नाम मात्रैका कम्युनिष्ट हुन् भन्ने कुरो ६२÷६३ को जनआन्दोलन ताका नै स्पष्ट भइसकेको थियो । सिंगो देश जनआन्दोलनमा होमिएको त्यो बेला उनी दरबारको पटांगिनीमा काजु–बदाम खाएर आम जनतामाथि खिसीट्युरी गरिरहेका थिए ।

अस्ति भर्खरै एक सार्वजनिक कार्यक्रममा ‘एमाले क्विन्टलको ढक र अरु पार्टीहरु एक किलोका ढक’ हुन् भन्दै ताली खाएका ओली त्यसको भोलिपल्टै नेपालगन्जमा राप्रपाको चरणमा पुगे ।

बाहिर जसो भनेर कुर्लिए पनि सम्भवत निर्वाचनको नतिजा आफू प्रतिकुल आउनेमा उनी ढुक्क छन् । त्यसैले विकल्पको रुपमा कहिले मधेसवादी दल त कहिले राजावादीहरुसँग चुनावी तालमेलका लागि अनुनय गरिरहेका छन् ।

उता मृत राजतन्त्रको खरानी बोकेर हिँडेका राजावादीहरुले पनि ओलीलाई खासै भाउ दिएको छाँट देखिँदैन । गठबन्धन त उनीहरु पनि चाहान्छन नै, परन्तु ओली प्रवृतिलाई नजिकै बाट नियालेका र भोगेका पनि छन् ।

२०७४ सालको निर्वाचनमा पनि ओलीकै क्षेत्रमा राप्रपासँग तालमेल भएको थियो । जेहोस् पिठो पसलको छेउँमा गएर खरानिको पसल थापेर पिठोलाई समेत दूषित तुल्याउनेहरु आफ्नै सेरोफेरोमा उभिएको जाती । अर्थात्, मृत राजतन्त्रको भड्किएको आत्मा बोकेर गणतन्त्रलाई खिसिट्युरी गर्नेहरु एउटै बयलगाढा चढेर स्वर्गद्वारीतर्फको मार्ग प्रशस्त गरेकै हाइसन्चो ।

आखिर खच्चडले दुईवटा काम बडो बफादारीका साथ गर्छ नै । मालिकको भारी बोक्ने र जता मालिकले डोहो¥यायो उतै लम्किने । मलिकको आज्ञापालनमै जीवनको अधिकांश समय खर्चिएर देशलाई खोक्रो बनाएका बोक्रे राष्ट्रवादीहरु तालमेल मात्रै होइन, आलिंगनमै टाँसिएर यात्रा गरेको राम्रो ।
– लमही दाङ

दृष्टि न्यूजबाट

लेखक : उमेश बन्जाडे