श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले १७ सदस्यीय मन्त्रिमण्डल गठन गरे

कोलम्बो–संकटमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले १७ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । विपक्षीले राजीनामाको माग गर्दै विरोध प्रदर्शन भइरहेका बेला राजापाक्षेले १७ सदस्यीय मन्त्रिमण्डल नियुक्त गरेका हुन् ।

राजापाक्षेले सुरुमा आफ्नो मन्त्रीहरूको मन्त्रिपरिषद् बर्खास्त गरेर विपक्षीलाई नयाँ सरकार गठन गर्न आह्वान गरेका
थिए । तर, उनको प्रस्तावलाई विपक्षीले अस्वीकार गरेका थिए । तर, उनले अहिले आफ्नो पार्टीका केही सदस्यलाई विभिन्न पदमा पुनः नियुक्त गरेका छन् ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि यो श्रीलंका अहिलेसम्मकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । दैनिक १२ घन्टा लोडसेडिङ, खाद्यान्न, औषधि र इन्धनको अभावले चौतर्फी असन्तुष्टि बढेको छ ।