Breaking News

पोखरा महानगरपालिकाको मेयर र उपमेयरको लागि एमालेले आज मतदान गर्दै

२ वैशाख, पोखरा । कास्कीको पोखरा महानगरपालिकाको मेयर र उपमेयरको लागि एमालेले सिफारिस गर्न नसकेपछि आज दुई पक्षबीच चुनाव हुँदैछ ।

अब मेयरको आकांक्षा राखेका १२ जनामध्ये महानगरपालिका कमिटीमा धेरै मत ल्याउने दुई पुरुष र एक महिलाको नाम सिफारिस हुनेछ । पोखरा महानगर कमिटीले आज शुक्रबार दिउँसो १२ बजे मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

नगर कमिटीले गएको मंगलबार डाकेको बैठकमा ३ हजार रुपैयाँ शुल्क तिरेर १२ जनाले महानगरको मेयर पदमा आकांक्षा दर्ता गरेका थिए ।

मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारीका साथै प्रा.डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा छन् । प्रदेशसभा सदस्य कृष्ण थापा पोखराका पूर्वमेयर हुन् भने लामा पोखरा १३ का वडाध्यक्ष हुन् ।

मेयरको उम्मेदवार हुन आवेदन दिएकामध्ये मीना गुरुङ, पुष्पज्योति ढुंगाना, भीम कार्की, प्रदेश सांसद राजीव पहारी एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ पक्षका नेताहरु हुन् । मीना गुरुङ, पृथ्वीसुब्बाकी सम्धिनीसमेत हुन् । यो समूहलाई सचिव पद्मा अर्यालको समेत साथ छ ।

यसैगरी प्रदेशसभा सदस्य कृष्ण थापा, दर्शन लामा, रश्मी आचार्य, दीपक पौडेल, सावित्री भण्डारी भने स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका हुन् । सावित्री जिल्ला समन्वय समिति उपाध्यक्ष पनि हुन् ।

त्यस्तै, उपमेयरमा ११ जनाले आकांक्षा राखेका छन् । शुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी (त्रिपाठी), जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्रीले उपमेयर पदमा आकांक्षा राख्दै निवेदन दिएका छन् ।

लेखक : कृष्णबहादुर कार्की