Breaking News

कोरोना विरुद्धको खोप अभियान सुस्त गतिमा सञ्चालन हुँदा खोप खेर जाने सम्भावना

माया श्रेष्ठ

  नेपालमा कोरोना विरुद्धको खोप अभियान सुस्त गतिमा सञ्चालन हुँदा खोप खेर जाने सम्भावना बढेर गएको छ । अप्रिलको अन्त्यसम्म अर्थात् वैशाख १७ गतेसम्म जोनसोन र एस्ट्राजेनिकाको १३ लाख मात्रा खोप लगाइ सक्नुपर्ने बाध्यता छ । किनभने वैशाख १७ सम्म मात्रै सो खोप लगाउन मिल्छ । अब अप्रिलको अन्त्यसम्म सो खोप सकाउन दैनिक ७६ हजार ४७१ जनालाई लगाउनै पर्छ ।

यद्यपि पछिल्लो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क केलाउँदा कोभिड विरुद्धको खोप लगाउने दर क्रमशः घट्दै गएको छ । सोमबार देशभर जम्मा १५ हजार ३३५ जनाले मात्र कोरोना विरुद्धको खोप लगाएका छन् । २७ चैत अर्थात् आइतबार २० हजार ८२८ जनाले, २५ चैतमा २६ हजार ४५ जनाले खोप लगाएका थिए । यस्तै, २४ चैतमा ५० हजार ९३ जना, २३ चैतमा ५६ हजार २२७ जना, २२ चैतमा १७ हजार ७५५ जना र २१ चैतमा ६० हजार ७२ जनाले खोप लगाएका थिए ।

यसरी क्रमशः खोप लगाउनेको सङ्ख्या कम हुँदै गएको खण्डमा कोरोनाविरुद्धको खोप खेर जाने सक्ने सम्भावना प्रबल रहेको स्वास्थ्य सेवा विभागका एक अधिकारीले बताए । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापनका अनुसार केन्द्रीय भण्डारण केन्द्रमा तीन लाख मात्रा र मात्रा प्रदेश र स्थानीय तहका खोप केन्द्रमा १० लाख जोन्सोन र एस्ट्राजेनिका खोप रहेको छ ।

स्वास्थ्य सेवा विभागका अधिकारीका अनुसार स्थानीय तहको चुनाव नसकिएसम्म खोप अभियानले तीव्रता पाउने सम्भावना कम छ । स्थानीय तहको चुनावतर्फ धेरैको ध्यान केन्द्रीत भएकाले खोप कार्यक्रम ओझेलमा परेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्रा भन्छिन्, ‘कोरोना महामारीको तेस्रो लहर मत्थर भएपछि दैनिक खोप लगाउन पुग्नेको सङ्ख्यामा कमी आउन थालेको छ ।’

प्रवक्ता डा मिश्राका अनुसार तेस्रो लहरमा धेरै जना कोरोना सङ्क्रमित भए । तर कतिपय मानिस सङ्क्रमण दर कम भएपछि खोप लगाउन गएनन् । यसरी सङ्क्रमित भएकाहरूमा तत्काल फेरि सङ्क्रमण हुँदैन भन्ने मानसिकताका कारण पनि खोप लगाउनेको सङ्ख्यामा कमी आएको हुन सक्ने उनको भनाइ छ ।

यस्तै, चैत २५ देखि वैशाख १८ सम्म १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइँदैछ । यो अभियान सञ्चालन भइरहेकोले पनि कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या कमी आएको सरकारी अधिकारीहरू बताउँछन् ।

यता स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले अप्रिलसम्ममा म्याद सकिने खोप लगाइ सक्ने जिकिर गर्छन् । ‘एस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाएकाहरूको दोस्रो मात्रा लगाउने समय आएको हुँदा खोप खेर जाँदैन,’ उनले भने, ‘स्थानीय तहमा पुगेको जोन्सोन र एष्ट्राजेनिका खोप लगाउने क्रम जारी छ ।’

पछिल्लो समय बुस्टर डोज प्रायःले मोडर्ना, फाइजर र कोभिशिल्ड लगाइरहेका छन् । सरकारसँग केन्द्रीय भण्डारण केन्द्र, प्रदेश, जिल्ला, स्थानीय खोप केन्द्रसम्म एक करोड १० लाख मात्रा खोप भण्डारण रहेको उनले जनाए । यसमा कोभिशिल्ड, भेरोसेल, एष्ट्रजेनिका, फाइजर, मोडर्ना, जोन्सोन र सिनोभ्याक रहेको छ ।

यस्तै, सरकारले खोप अभियानलाई तीव्रता दिन नसक्दा अनुदानमा प्राप्त हुने खोप ल्याउन समेत ढिलाइ हुने भएको छ । भण्डारणमा रहेका कोरोनाविरुद्धको खोप नसकाएसम्म अरू खोप ल्याउन नसकिने शाखा प्रमुख डा चौरसियाले बताए । १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई दिइने ८२ लाख मात्रा फाइजर खोप पाइपलाइनमा रहेको छ । त्यस्तै, १५ लाख मात्रा फाइजर खोप आइसकेको छ ।

नेपालमा हालसम्ममा जनसङ्ख्याको ६६.१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै, कम्तीमा एक मात्रा खोप लगाउने ७५.७ प्रतिशत छन् । एकातिर सरकारले खोप दिने लक्ष्य पुरा गर्न सकेको छैन भने अर्कोतिर खोप खेर जाने अवस्थामा पुगेको छ ।

लेखक : माया श्रेष्ठ