Breaking News

देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि, सुस्वास्थ्य र सफलताको हार्दिक शुभकामना व्यक्त

सभामुख अग्निप्रसाद सापकोटाले नववर्ष २०७९ साल प्रारम्भका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि, सुस्वास्थ्य र सफलताको हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले विक्रम संवत् २०७८ मा कैयौँ अप्ठ्यारा आए र तिनलाई हामीले सुझबुझपूर्ण ढङ्गले निकास दिँदै गएको उल्लेख गर्दै भविष्यका लागि आशावादी बनाएर २०७८ बिदा भएको शुभकामना सन्देशमा भने ।

विसं २०७९ चुनावी वर्ष रहेकाले आम नागरिकका लागि आफ्नो अमूल्य मताधिकारको सही प्रयोग गर्ने एवं राजनीतिक दलका लागि आफ्ना नीति र नेतृत्वको परीक्षाको वर्ष बन्ने विश्वास पनि शुभकामना सन्देशमार्फत सभामुख सापकोटाले बताए ।

आगामी दिनमा संविधानको कार्यान्वयन, परिवर्तित व्यवस्थाअनुरुप नागरिकले अनुभूत गर्ने तहमा जीवनस्तर परिवर्तनको दिशामा मुलुकलाई अगाडि बढाउन दलका बीचमा सहकार्य र सहमतिको संस्कृति अझ विकास र विस्तार हुने उनले विश्वास व्यक्त गरे

लोकतन्त्रको उच्चतम् अभ्यास गर्न, यसलाई फुल्ने, फल्ने वातावरण बनाउन, लोकतान्त्रिक विधि, पद्धति र प्रक्रिया लागू गर्न निरन्तर प्रयत्नरत रहन एवं संवैधानिक मूल्य, मान्यता र नैतिकतालाई आत्मसात् गर्न नयाँ वर्षले सबैलाई प्रेरणा दिने विश्वास सभामुख सापकोटाको छ ।

 

सभामुख अग्निप्रसाद सापकोटा

लेखक : रासस