कि पार्टीको निर्णय मान्नु पर्यौ ? हैन भने पद र कुर्ची छाड्नु पर्र्यो

वरिष्ठ नेता -माधवकु्मार नेपाल

१५ वैशाख, काठमाडौं । नेकपाभित्रको अन्तरविरोध चरम बिन्दूमा पुगेपछि अप्ठेरोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग शक्ति बाँडफाँट गरेर जोगिन अन्तिम प्रयत्न थालेका छन् । नेपालसँगै समझदारी गरेर अघि बढ्न दबावमा परेका ओलीले नेपाल पक्षसँग निर्णायक संवाद गर्न आफू निकट नेताहरुलाई खटाएका छन् ।
बालुवाटार स्रोतका अनुसार आज (सोमबार) ओली पक्ष र नेपाल पक्षका नेताहरुबीच समझदारीका लागि ‘निर्णायक छलफल’ हुँदैछ । त्यसका लागि दुबै पक्षबाट चार÷चार जना नेता खटिएका छन् । अपरान्ह प्रधानमन्त्रीनिवास बालुवाटारमा हुने दुई पक्षीय छलफलपछि प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच कुराकानी हुनेछ ।
ओली पक्षबाट वार्ताका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव बिष्णु पौडेल, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तोकिएका छन् । त्यस्तै नेपाल पक्षबाट बरिष्ठ नेता नेपालसहित स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई तोकिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीलाई हटाउने सम्मको तयारी भएपछि पूर्वएमालेबीच समझदारीका लागि प्रयत्न भइरहेको छ ।
प्रचण्डले यसअघि नै माधव नेपाललाई प्रधानमन्त्री र झलनाथ खनाललाई राष्ट्रपति बनाउने सम्मको प्रस्ताव राखिसकेको नेकपाभित्र चर्चा छ । तर, माधव नेपाल अझै पनि ओलीलाई अपमानजनक ढंगले हटाएर अस्थिरताको कारक बन्न चाहिरहेका छैनन्
आइतबार माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक नेपाल निवासमा बसेको थियो । नेपाल पक्षधर नेताहरुले ओलीलाई दुवै पदबाट हटाउनुपर्ने सम्मका बिचार राखेको स्रोतले जनाएको छ । सो बैठकमा नेताहरुले तत्काल पार्टीको बैठक राखेर सरकार र पार्टीको भूमिकाका बारेमा छलफल गर्नुपर्ने बताएका थिए । बैठक छल्ने कुरा स्वीकार्य नहुने उनीहरुको भनाइ थियो ।
स्थायी कमिटी सदस्य रघुजी पन्तले ओलीबाट सरकार र पार्टी दुवै चल्न सकेन भन्ने धेरै नेताहरुको राय आए पनि आफूहरु कसैलाई पनि देखाइदिनुपर्छ भन्ने पक्षमा नरहेको बताए । उनले भने, ‘केपी कमरेडबाट सरकार र पार्टी सञ्चालन दुवै हुन सकेन भन्ने साथीहरुको कुरा छ । अब सचिवालयका नेताहरुमात्र मिलेर पन हुनेवाला देखिएन । हिजो माधव नेपाललाई देखाइदिने भन्ने शैलीले यो अवस्था आएको हो । मैले उतिबेलै यो तपाईहरुलाई भारी पर्छ भनेकै थिएँ । अहिले पनि कुनै एउटा पक्षलाई देखाइदिनुपर्छ भन्ने पक्षमा म छैन ।
नेपाल पक्षले ओलीसँग समझदारीका केही पूर्वशर्त राखेको छ । जसमा सहमति हुन सकेको छैन । त्यसैका लागि बालुवाटारमा आज वार्ता हुन लागेको स्रोतले जनाएको
छ । माधव नेपाल पक्षले प्रदेश मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्म एक व्यक्ति एक पदको शर्तमा सहमति भएमात्र ओलीसँग समझदारी हुने बताएको छ ।
नेपाल पक्षले कम्तिमा दुईजना मुख्यमन्त्री, मन्त्रिपरिषदमा समान सहभागिता र ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने शर्त अघि सारेको छ । नत्र पार्टीको निर्णय ओलीले मान्नुपर्ने उनीहरुको भनाइ छ । नेपाल पक्षका कतिपय नेताले ओलीसँग समझदारी गरेर जान नसकिने समेत बताइरहेका छन् ।
केही दिनयता ईश्वर पोखरेल, बिष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली लगायतका नेताहरुले माधव नेपालसँग दिनहु छलफल गरिरहेका छन् ।
नेपाल पक्षका अन्य नेतासँग पनि ओली पक्षको कुरा भइरहेको छ । योगेश भट्टराई लगायतका नेताले पनि ओली र नेपालबीच समझदारीमा जोड दिएका छन् ।
माधव नेपालसँग पावर सेयरिङमा कुरा गरिरहेका बेला शंकर पोखरेलले खुमलटार पुगेर प्रचण्डसँग पनि सोही आशयको कुराकानी गरेको सूचना खुमलटारबाट पाएपछि नेपाल पक्ष झस्किएको छ । नेपालनिकट स्थायी कमिटी सदस्य बेदुराम भुसालले दुवैतिर उस्तै प्रस्ताव लगेर जालझेल गर्न खोजिएको आशंका गरिएको छ ।
प्रचण्ड पक्ष भने पूर्वएमालेहरुबीचको समझदारी कस्तो हुन्छ भनेर पर्खेर हेर्ने पक्षमा छ । पार्टी संस्थागत र विधिवत ढंगले चल्नुपर्नेमा जोड दिएका छन् । दुई अध्यक्षबीचको अन्तरविरोध मिल्नै नसक्ने अवस्थामा पुगेपछि नेकपाभित्रको समीकरणमा माधव नेपाल निर्णायक बनेका छन् । नेपाल त्यही भएर आफ्नो ‘पोजिसन’ बनाइरहेका छैनन् । उनले सबै पक्षसँग छलफल गरिरहेका छन् ।