२९ चैत, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मूल सुरुङमा आजदेखि पानी पठाउने भएको छ । मेलम्चीको अम्बाथानस्थित हेडवर्क्समा ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’ गरी पानी पुन: पठाउन थालिएको हो ।
अहिलेसम्म पथान्तरणको औपचारिक सुरुआत र विभिन्न चरणमा भएका उद्घाटन जोड्ने हो भने यो मेलम्चीको सातौं औपचारिक उद्घाटन हुनेछ । आजदेखि पानी पठाउन सुरु गरिए पनि धारामा आउन भने नयाँ वर्ष नै कुर्नुपर्ने छ । आजको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा नै सहभागी हुने भए पनि निर्वाचन आचारसंहिताका कारण उनी सहभागी नहुने भएका छन् ।
२१ असार २०७७ मा पहिलोपटक मेलम्चीको पानी पथान्तरण भएको थियो ।
तर, एक हप्तामै मेलम्चीको अडिट सुरुङको गेट भत्किएर दुर्घटना भएपछि मर्मतमा करिब ८ महिना लाग्यो ।
सातौं पटक उद्घाटन–शुभारम्भ हुन लागेको मेलम्ची आयोजनाको काम भने अझै पनि सकिएको छैन । निर्माणाधीन अवस्थामै पुरिएको पानी फिल्टर गर्ने संयन्त्र काम लाग्ने अवस्थामा छन् कि छैनन् भन्ने टुंगो छैन ।