Breaking News

वैशाख महिनाका लागि निक्षेपको ब्याजदर नबढ्ने

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको आज बसेको बैठकले आगामी वैशाख महिनाका लागि निक्षेपको ब्याजदर नबढ्ने भएको छ । हाल बैंकहरुमा निक्षेपको ब्याजदर अधिकतम ११.०३ प्रतिशत काय छ । बजारमा तरलता अभावका बीच पनि बढ्दो ब्याजदरका कारण ऋणीहरुमा थप भार परेको र उत्पादनमा समेत समस्या परेको भन्दै बैंकहरुले वैशाखका लागि नयाँ ब्याजदर नतोक्ने निर्णय गरेको एक बैंकर्सले जानकारी दिए ।

बैठकले तत्काल एक हप्ताका लागि कुनैपनि विलासीताका वस्तुको आयातमा जारी गरिने प्रतितपत्र (एलसी) समेत नखोल्ने निर्णय गरेको ती व्यक्तिले जानकारी दिए । बढ्दो आयातका कारण विदेशी मुद्रा सञ्चितिमा परेको निरन्तर दबाबलाई केही सन्तुलित राख्न र बचत गर्न यस्तो निर्णय गरिएको उनले बताए । यसले मुद्राको सञ्चिति मात्र नभई आयात नियन्त्रणमा समेत उल्लेख्य भूमिका खेल्ने उनले बताए ।

पछिल्लो समय बढ्दो आयातका बीच अपेक्षित रुपमा रेमिटेन्स बढ्न नसक्दा र विदेशी मुद्रा आर्जनका स्रोतहरु खुम्चिँदा सोको दबाब विदेशी मुद्रामा परिरहेको छ । यसैको प्रभाव निरन्तर मुद्रा घट्दै जादा नेपालको आर्थिक अवस्था पनि श्रीलंकाको जस्तै हुन्छ कि भनेर सबैबाट चिन्ता व्यक्त भएका छन् ।

यसैलाई ध्यानमा राख्दै राष्ट्र बैंकको पछिल्लो निर्देशनलाई बैंकहरुले कार्यान्वयन गर्न लागेका हुन् । गत हप्ता राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै बैंकहरुलाई अत्यावश्यक बाहेका विलासी वस्तुहरुको एलसी जारी नगर्न निर्देशन गरेको थियो ।