प्रधानमन्त्री इमरान खान बिरुद्धको अविश्वास प्रस्ताव संसदबाट पास : नयाँ प्रधानमन्त्रीको खोजी

२७ चैत, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान बिरुद्धको अविश्वास प्रस्ताव संसदबाट पास भएपछि उनी पदबाट हटेका छन् । अब पाकिस्तानमा नयाँ प्रधानमन्त्री को बन्ला भन्ने चर्चा भएको छ ।

पाकिस्तानका मिडियाका अनुसार अब पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना रहेको स्थानीय मिडियाले जनाएका छन् । सम्भवत भोली शहबाजलाई सदनले नयाँ प्रधानमन्त्री चुन्ने बताइएको छ ।

शहबाज शरीफ पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ हुन् । शहबाज शरीफका दुई दाजुहरु अब्बास शरीफ र नवाज शरीफ हुन् । नवाज शरीफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।

पनामा पेपर्सले नवाज शरीफ र उनका परिवारका सदस्यहरुले कालो धन राखेको तर सम्पत्ति विवरणमा नदेखाएको खुलासा गरेपछि त्यसैलाई टेकेर तत्कालीन विपक्षी दलका नेता इमरान खान लगायतले अदालतमा मुद्दा हालेका थिए । सोही मुद्दामा पाँच सदस्यीय पूर्ण इजलासले सर्वसम्मत रुपमा नवाज शरीफलाई दोषि ठहर गरेपछि नवाज शरीफको प्रधानमन्त्री पद गुमेको थियो ।

 

अब पाकिस्तानका प्रधानमन्त्री बन्न लागेका शहबाज शरीफ दाजु नवाज शरीफ भन्दा पनि धनी रहेको बताइन्छ । सन् २०२० को सेप्टेम्बरमा शहबाज शरीफ पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पक्राउ परेका
थिए । सन् २०२१ को अप्रिलमा लाहोर हाईकोर्टले उनलाई धरौटीमा रिहा गरेको थियो ।

शहबाज शरीफ १३ अगष्ट सन् २०१८ देखि नेशनल एसेम्बलीको सदस्य छन् । उनी विपक्षी दलको नेता पनि हुन् । यसअघि उनी शहबाज शरीफ तीन पटक पन्जाब प्रान्तको मुख्यमन्त्री बनेका थिए । पन्जाब प्रान्तको सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री बनेका उनी हाल पीएमएल–एनको अध्यक्ष छन् ।

शहबाज शरीफको जन्म सन् १९५१ को २३ सेप्टेम्बरमा लाहोरमा भएको थियो । उनको राजनीतिमा इन्ट्री ८० को दशकतिर भएको थियो ।

सन् २०१८ मा पाकिस्तानमा भएको आम निर्वाचन भएको थियो । यो चुनावमा पीएमएल–एनले शहबाज शरीफलाई भावी प्रधानमन्त्री घोषणा गरेको थियो । तर यो चुनावमा सबैभन्दा धेरै सिट इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले जित्यो र खान प्रधानमन्त्री चुनिए । शहबाज शरीफ भने विपक्षी दलको नेता बने ।