सत्ता गठबन्धनमा रहेका पाँच दलले स्थानीय चुनावमा देशव्यापी तालमेलको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने भएका छन् ।
‘रामचन्द्र पौडेलजीको संयोजकत्वमा बनेको कार्यदलले सार्वजनिक अपिल ड्राफ्ट गरिरहेको छ, गठबन्धनका मुख्य नेताहरुको बैठक बसेर त्यसलाई अन्तिम रुप दिने र संयुक्त वक्तव्य जारी गर्ने गृहकार्य भइरहेको छ’ ती नेताले रातोपाटीसँग भने,‘सायद एक दुई दिनभित्रै वक्तव्य आउँछ ।’
गठबन्धनमा आवद्ध दलका नेताहरुबीच आज बिहान बालुवाटारमा भएको अनौपचारिक छलफलमा पनि संयुक्त वक्तव्य जारी गर्नेबारे नेताहरुबीच छलफल भएको बताइएको छ । छलफलमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डका साथै कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का लगायतको सहभागिता थियो । बैठकमा एकीकृत समाजवादीका नेता झलनाथ खनालको पनि सहभागिता थियो ।
सत्ता गठबन्धनले ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकामा मेयर र उपमेयरहरुको उम्मेदवारी केन्द्रबाटै टुंगो लगाउने र बाँकी स्थानीय तहमा मातहतका पार्टी कमिटीले उम्मेदवार तय गर्नेगरी यसअघि नै निर्णय गरिसकेका छन् ।