आसन्त बैशाख ३० गते हुन गइरहेको स्थानीय चुनावमा सत्ता गठबन्धनको चुनावी तालमेल चलिरहेको बेला नेपाली काँग्रेस विराटनगर महानगर समितिले विराटनगरमा कुनै पनि गठबन्धन आवश्यक नरहेको निर्णय गरेको छ । दुई दिन अगाडि बसेको नगर समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
विराटनगरमा १९ वटा वडा तहसम्मै गठबन्धन हुँदैन,’ नगर सभापति दीपक चापागाईँले भने, ‘केन्द्रले स्थानीय अवस्था हेरेर तालमेल गर्ने निर्णय गरिसकेको
छ । केन्द्रले विराटनगरको विषयमा निर्णय गर्ने कुरा भएन । हामी स्थानीय तहले अवस्था हेरेर निर्णय गर्ने भनेपछि केन्द्रले लाद्न पाउँदैन ।’
विराटनगरमा वडातहसम्मकै उम्मेदवारको नामावली संकलन र सिफारिसको काम भइरहेको छ । हालसम्म १९ वटा वडामध्ये एउटा वडा १८ नम्बरबाहेक सबैको नामावली सिफारिस भएको उनले बताए । ‘हामी सबै उम्मेदवारको नामावली सिफारिस भोलिसम्ममा गरिसक्छौँ,’ चापागाईँले भने ।