Breaking News

सातै प्रदेशको औकात नापेर काठमाडौँ फर्कियो एकीकृत समाजवादी

तत्कालीन नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरू पहिलोपटक आफ्नो संगठनको अवस्था अध्ययन गर्न फिल्डमा खटिएर  काठमाडौँ फर्किएका छन् । चैत ३ गते बसेको सचिवालय बैठकले पार्टीको अवस्था र सम्भावित चुनावी रणनीतिका विषयमा अध्ययन गर्न नेताहरूलाई फिल्डमा खटाएको हो ।

पार्टीको अवस्था र सम्भावित चुनावी रणनीति तय गर्न प्रदेश नम्बर एकमा उपाध्यक्ष  प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बाग्मती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधार, गण्डकी प्रदेशमा जयन्ती राई, लुम्बिनी प्रदेशमा विजय पौडेल, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बेदुराम भुसाललाई खटाएको थियो ।

एमालेबाट देशैभरबाट स्थानीय तहमा १ हजार ५ सय १ जनाले एकीकृत समाजवादी रोजेका थिए । पछिल्लो समय स्थानीय जनप्रतिनिधि एकीकृत समाजवादी रोज्नेको सङ्ख्या बढ्दै गएकाले अझ बढ्न सक्ने पार्टी उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले रातोपाटीलाई बताए ।

‘चैत ५ गतेदेखि २० गतेसम्म ‘जनतामा जाऊँ, एकीकृत समाजवादीलाई जिताऊँ’ भन्ने नाराका साथ अधिकांश पालिका, वडा र टोल कमिटी गठन गरेका छौँ’ रातोपाटीसँग कुरा गर्दै खतिवडाले भने, ‘सबै प्रदेशमा खटिनुभएका कमरेडहरूले अध्ययन गरेर रिर्पोट ल्याउनुभएको छ । यसपछि संगठनको हैसियत थाहा हुनेछ र यसैलाई आधार बनाएर चुनावी तालमेलमा सीट दाबी गर्छौँ ।’

सातै प्रदेशको रिर्पोट अध्ययन गरेर चैत मसान्तभित्र पार्टीले स्थानीय तहको सीट दाबी गर्ने खतिवडाले बताए । यसअघि एमालेले जितेका स्थानीय तहमा आफूहरूले नेतृत्व पाउनुपर्ने एकीकृत समाजवादीले सर्त राखेको छ । देशभरिका ६ वटा महानरपालिकामध्ये एमालेले जितेका काठमाडौँ वा पोखरामध्ये एउटा महानगर आफूहरूले पाउनुपर्ने एकीकृत समाजवादीको माग छ ।

 

तर, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले भने एमालेले जितेको सानो अंश एकीकृत समाजवादीलाई दिएर अरुवा तालमेल गर्नुपर्ने अडानमा छन् । काँग्रेसले भने स्थानीय तहको मतदाताका आधारमा चुनावी तालमेल गर्नुपर्ने बताउँदै आएको छ । सत्ता गठबन्धनमा ७५३ स्थानीय तहमा कुन मोडलमा भागबण्डा गर्ने भन्ने विषयमा सहमति भएको छैन ।

गठबन्धनको प्रक्रियाबारे सहमति जुट्न नसकिरहेको अवस्थामा एकीकृत समाजवादी पार्टीको सांगठनिक अवस्था र चुनावी समीकरणका विषयमा अध्ययन गरेर सातै प्रदेशबाट अध्ययन गरेर नेताहरू काठमाडौँ फर्किएका हुन् ।

रातोपाटीबाट

लेखक : वीरेन्द्र ओली