मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिकरूपमा सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले बिहान ११ देखि दिउँसो ४ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो ।
सवारीसाधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालय समक्ष समय व्यवस्थापनको प्रस्ताव गरेको थियो । हाल तेह्र किलोमिटर लामो सडक स्तरोन्नति र कलोपत्रको काम भइरहेको छ । सहजीकरणका लागि म्याग्दी, मुस्ताङ, बागलुङ र कास्की जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ । एम्बुलेन्स र विकास निर्माणका अत्यावश्यक सवारीसाधनका हकमा सहजीकरण गरिने छ ।
मालढुङ्गा–बेनी सडक बन्द भएको समयमा बागलुङ–रत्नेचौर–बेनी हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिने छ । एपेक्स–खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले सडक निर्माणलाई तीव्रता दिन सवारीसाधन रोकेर काम गर्न समय मागिएको बताए ।
कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार र सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोर अन्तर्गत पर्छ ।
वि।सं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भई निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरी सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गर्दै आएको छ । वि।सं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत निर्माण थालिएको सडक २०५२ मा सञ्चालनमा आएको हो । वि।सं २०६८ मा कालोपत्र भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण थियो ।