Breaking News

नेपाल बार एसोसिएसनको २६ औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनको लागि मतदान शुरु

नेपाल बार एसोसिएसनको २६ औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनको लागि आज बिहान आठ बजेदेखि मतदान शुरु भएको छ । नेपाल बार एसोसिएसन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार उपत्यकाको काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट एकसाथ मतदान प्रारम्भ भएको छ । मतदान अपराह्न ४ बजे सम्पन्न हुनेछ ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन हुनेछ । निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका छन् ।

नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन् ।

बारमा अध्यक्षका लागि व्यक्तिगत रुपमा र समूहगत रुपमा गरी आठ जनाको उम्मेदवारी परेको छ । काठमाडौँ केन्द्रका लागि सर्वोच्च अदालत परिसरमा चार वटा बुथको व्यवस्था गरिएको छ । काठमाडौँ केन्द्रमा उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप धादिङ, नुवाकोट, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका मतदाताले मतदान गर्नेछन् ।

लेखक : रासस