आखिर उत्तर कोरियाली शासक किम जोङको अवस्था के छ, अनी कहाँ छन् उनी ?

एजेन्सी

उत्तर कोरियाली नेता किम जोङ उनबारे पछिल्लो समय विभिन्नखाले समाचार आएका छन्। केहीले उनी बिरामी परेको भनेका छन् भने केहीले मुटुसम्बन्धी समस्याका कारण उनको मृत्यु भइसकेको हल्ला पनि चलाएका छन्। ९ वर्षअघि आणविक शक्ति राष्ट्रको बागडोर सम्हालेका ३६ वर्ष हाराहारीका किमलाई के भएको हो? अहिलेसम्म उत्तर कोरियाले औपचारिक रूपमा सार्वजनिक गरेको छैन।
अप्रिल १५ मा मनाइने उनका दिवंगत हजुरबुवा किम जोङ सङको जन्मजयन्ति कार्यक्रममा किम जोङ उन अनुपस्थित भएपछि उनी कहाँ छन् भन्ने चर्चा सुरू भएको हो। उत्तर कोरियामा सङको जन्मजयन्तिलाई निकै महत्वपूर्ण दिन मानिन्छ। सत्तामा आएदेखि किमले कुनै पनि वर्ष यो दिनको कार्यक्रम छुटाएका थिएनन्। सङले कोरिया छुट्टिएर उत्तर र दक्षिण कोरिया बनेपछि उत्तरमा आफ्नो शासन सुरू गरेका थिए। उनको मृत्युपछि उनका छोरा किम जोङ इल शासक बने। सन् २०११ इलको मृत्यु भएपछि उन कलिलो उमेरमै उत्तर कोरियाको नयाँ नेता बनेका हुन्।
धेरै चुरोट र रक्सी पिउने उनलाई मोटोपनको समस्या छ।
गत साता अमेरिकी टेलिभिजन सिएनएनले किम जोङ उन गम्भीर बिरामी भएको र उनको शल्यक्रिया गरिएको समाचार प्रसारण गरेको थियो।
जापानका केही सञ्चारमाध्यमले किमको मुटुमा स्टेन्ट राख्न खोज्दा उनको ब्रेन डेड भएको खबर छापेका छन्। दक्षिण कोरियाको डेली एनकेले भने मुटुसम्बन्धी शल्यक्रियापछि किम निको भइरहेको जनाएको छ।
‘केही न केही नराम्रो भएको छ,’ डेली एनकेले भनेको छ,‘जबसम्म उत्तर कोरिया सरकारी सञ्चारमाध्यमले किमको स्वास्थ्य अवस्था के छ र उनी कहाँ छन् भन्नेबारे औपचारिक जानकारी दिदैनन् उनकाबारे विभिन्न हल्लाहरू चलिरहन्छन् र अनिश्चितता जारी रहन्छ।
उत्तर कोरियाली सञ्चारमाध्यमले आइतबारसम्म किमको अवस्थाबारे कुनै जानकारी दिएका छैनन्।
यसैबीच चीनले मेडिकल डाक्टरसहितको टिम उत्तर कोरिया पठाएको छ।
कतिपयको अनुमान के छ भने कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने ठानेर पनि किम जोङ उन सार्वजनिक समारोहमा सहभागी नभएका हुन सक्छन्। यद्यपी उत्तर कोरियाले आफ्नो देशमा अहिलेसम्म कोरोनाभाइरसका एक जना पनि संक्रमित नभएको दाबी गर्दै आएको छ।
आइतबारमात्र अमेरिकी स्याटेलाइट तस्बिरलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उनको रेल वोन्सानको एउटा रिसोर्टमा पार्किङ गरिएको जनाएको छ। तर उक्त रेलमा किम छन् कि छैनन् भन्ने पुष्टि हुन सकेको छैन।
किम गम्भीर रूपमा बिरामी परे वा उनको मृत्यु नै भयो भने उनको उत्तराधिकारी को हुन्छ भन्ने चर्चा पनि अहिले छ।
धेरैले उनकी बहिनी किम यो जोङ उत्तर कोरियाकी कार्यवाहक शासक हुने अनुमान गरेका छन्।
उत्तर कोरिया निकै नै पितृसत्तात्मक समाज हो। एक दलीय शासन व्यवस्था भएको मजदुर पार्टीमा अहिले पनि महिलाको संख्या न्यून छ।
तीस वर्ष हाराहारीकी किमकी बहिनी जोङले पछिल्लो समय दाजुलाई सघाइरहेकी देखिन्थिन्।
सन् २०१८ मा दक्षिण कोरियामा भएको ओलम्पिकमा उत्तर कोरियाली टोलीको नेतृत्व गर्दै सहभागी भएपछि कतिपय मिडियाले उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पसँग तुलना गरेका थिए। त्यसपछिमात्रै अन्तर्रा्ष्ट्रिय मिडियामा उनको चर्चा हुन थालेको हो। ट्रम्प र उनबीच भियतनामको होनाईमा भएको शिखर वार्तामा जोङले आफ्ना दाजुलाई सघाइरहेको देखिन्थ्यो।
उन र जोङ एकै आमाबाट जन्मिएका दाजु बहिनी हुन्। उनीहरूका बुवा किम जोङ इलले चार वटा विवाह गरेको र उनीहरूबाट ७ जना सन्तान जन्मिएको बताइन्छ।
यी दाजुबहिनीले बाल्यकाल स्वीट्जरल्याण्डमा बिताएका थिए। एक जना कूटनीतिज्ञका छोराछोरी बनेर उनीहरूले विद्यालय तहसम्मको पढाइ पनि स्वीट्जरल्याण्डमै पूरा गरेका थिए।
उनीहरूका बुवा इलले आफ्नी छोरीको क्षमताको तारिफ गर्ने गर्थे।
किमका सौतेनी दाइ किम जोङ नामको तीन वर्षअघि मलेसियाको विमानस्थलमा हत्या गरिएको थियो।
उत्तर कोरियाको संभ्रान्त वर्गले किम परिवारभन्दा बाहिरबाट शासक छान्नु झन् कठिन हुने ठानिएको छ।
जोङलाई किमका १० वर्षका छोरा वयस्क नभएसम्मका लागि कामचलाउ उत्तराधिकारी बनाउन सहज हुने कतिपयको विश्लेषण छ।