समाजवादी प्रेस संगठन अध्यक्ष शम्भु श्रेष्ठले दुई दिने प्रथम विस्तारित बैठकमा प्रस्तुत गर्नु भएको मन्तव्य

अध्यक्ष शम्भु श्रेष्ठले प्रस्तुत गर्नुभएको मन्तव्य :

परिवर्तनकामी र प्रगतिशील श्रमजीवी पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन, नेपालको यो प्रथम विस्तारित केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन आउनुभएका संगठनका सबै साथीहरूमा हार्दिक अभिवादन टक्र्याउन चाहन्छु।

नेपालको राजनीतिजस्तै पत्रकारिता र सञ्चार उद्यम अहिले विषम परिस्थितिको सामना गरिरहेको छ । सामाजिक रुपान्तरण र लोकतन्त्रसँग गाँसिएका सबै क्षेत्रहरूजस्तै नेपालको सञ्चारजगत्पनि अहिले फेरि एउटा आँधीबेहरीसँग जुधिरहेको छ ।

दशकौंको परिश्रमबाट निर्माण गरिएको एउटा धरोहर एक विध्वंशक प्रवृत्तिबाट क्षतविक्षत हुन पुगेपछि हामी फेरि नयाँ धारमा समाहित हुने ऐतिहासिक कार्यभार पूरा गर्ने क्रममा यहाँ जुटिरहेका छौं । त्यही कार्यभारको प्रकट रुप हो– समाजवादी प्रेस संगठन, नेपालको स्थापना र सुदृढीकरण ।

हामीले ठूलो मेहेनतका साथ निर्माण गरेको प्रेस चौतारी नेपाल नेपाली राजनीतिको भष्मासुर प्रवृत्तिबाट दुई चिरामा विभाजित भएको छ । हाम्रो आन्दोलन पनि पार्टी कब्जा गर्ने, विधि–विधानको दाहसंस्कार गरेर व्यक्तिवाद लाद्ने र आपराधिक शैलीमा पार्टी र जनसंगठनहरूलाई अपहरण गर्दै कब्जा गर्ने केपी ओली प्रवृत्तिकोसिकार भएको छ ।

ऐतिहासिक उचाइमा पुगिसकेको आन्दोलन धरासायी भएपछि हाम्रो अगाडि नेपाली जनताको समाजवाद–सपना साकार पार्ने राजनीतिक आन्दोलनलाई सघाउने अर्को संगठनको निर्माण गर्नुको विकल्प थिएन । त्यसैले हामी समाजवादी प्रेस संगठनको छातामुनि यस बैठकबाट गोलबद्ध भएका छौं ।

हामी लोकतन्त्रलाई जीवनशैली बनाउन खोजिरहेका छौं । हामी सामाजिक न्यायका पक्षपाति मात्रै होइनौ, समतापूर्ण समाज निर्माणका सिपाही बन्न चाहन्छौं । हाम्रो कलम र त्यो कलमले कोर्ने प्रत्येक अक्षरले शताब्दीऔँदेखिको विभेद र शोषणमा परेको जनसमुदायलाई समानता र सम्मानपूर्ण जीवन बाँच्ने राजनीतिक, आर्थिक र सामाजिक सुनिश्चितता गरोस्भन्ने चेत बोकेको हुन्छ ।

हामी उत्पादनका साधनलाई एउटा सानो वर्गको कब्जाबाट मुक्त गराएर तिनको समान वितरणका लागि आजभन्दा ७२ वर्ष पहिलेबाट सुरु गरिएको कम्युनिष्ट आन्दोलनको मूल प्रवाहका सहयोगी हात बन्ने दिशामा उद्यत छौं ।

अहिले हाम्रो संगठन ठूलो भूकम्पपछि भताभुंग भएको संरचना पुनःनिर्माणको चरणमा छौं । जालझेलजनित कुत्सित राजनीतिबाट नेपाली जनताको प्यारो पार्टी एक हठी र अधिनायकवादी सोचबाट ग्रस्त व्यक्तिले कब्जा गरेपछिको अवस्थाबाट विचलित नभई फेरि हामीले हाम्रो संगठनलाई राष्ट्रव्यापी बनाएका छौं ।

समाजवादी प्रेस संगठन, नेपालको केन्द्रीय समिति बनेको ५ महिनामा हामीले संगठनलाई देशका ४० भन्दा जिल्लामा विस्तार गरेका छौं । सातै प्रदेश र केन्द्रीय तहमा संगठनलाई चलायमान बनाउन आवश्यक सबै विभागको गठन गरिसकेका छौं । यो बैठकपछि संगठनको नयाँ विधानबमोजिम देशभर संगठनमा आवद्ध पत्रकारहरुलाई सदस्यता वितरण गर्ने कार्ययोजना बनाएका छौं । र, भ्रममुक्त भएर हाम्रो संगठनमा फर्कने साथीहरूको संख्या बढ्दै गइरहेको छ ।
समाजवादी प्रेस संगठन प्रष्ट कार्यदिशा र स्पष्ट कार्यभारका साथ अगाडि बढिरहेको छ ।

हाम्रो लक्ष्य समाजवाद हो। हाम्रो तात्कालिक कार्यभार जनताको शदीऔंको संघर्षबाट आर्जित उपलब्धिको रक्षामा हाम्रा कलमहरूलाई सशक्त पार्दै लोकतान्त्रिक गणतन्त्रतात्मक संविधानको रक्षाको लागि अग्रपंक्तिमा उभिनु हो। र, यो अग्रपंक्तिमा उभिएका सिपाहीहरूको पेशागत हकहितका लागि अथक संघर्ष गर्दै नेपाली पत्रकारहरूको जीवन र जीवनस्तरलाई सम्मानित बनाउनु हाम्रो मुख्य ध्येय हो।

आज देशभर १० हजारभन्दा बढी पत्रकार क्रियाशील छन्। झण्डै ६०० प्रसारण संस्था, २०० जति मूलप्रवाहका अनलाइन र त्यत्तिकै संख्यामा सञ्चालित छापामाध्यममा आवद्ध पत्रकारहरूको हकहित, पेशागत सुरक्षा, वृत्तिविकास र सम्मानपूर्ण जीविकाको पक्षमा हाम्रो संगठनले अहोरात्र काम गरिरहेको छ ।

हामी श्रमजीवी पत्रकारहरूले श्रमको न्यायोचित प्रतिफल पाऊन्र शोषणको दुष्चक्रबाट उनीहरू उम्किउन्भन्ने मर्मका साथ संगठनलाई गतिशिल बनाइरहेका छौं । स्थापनाको यो छोटो अवधिमा हामीले यस दिशामा के–कति काम गर्न सक्यौं भन्ने समीक्षाको विषय हुनसक्छ । तर, हाम्रो संगठनको सुदृढीकरणसँगै त्यस दिशामा हाम्रा कदम दृढताका साथ अगाडि बढिरहेका छन् भन्न सकिने प्रशस्त दृष्टान्त प्रस्तुत गर्न सक्ने अवस्थामा हामी आइपुगेका छौं ।

यस केन्द्रीय कमिटीको विस्तारित बैठक हाम्रो संगठन निर्माणको इतिहासमा कोशेढुंगा सावित हुने छ । यस बैठकले देशभर रहेका साथीहरूलाई एक ठाउँमा भेला हुने अवसर मात्रै जुटाएको छैन, हाम्रो मातृ पार्टी नेकपा (एकीकृत समाजवादी)ले देशभर कस्तो आकार ग्रहण गरिरहेको छ र अबका दिनमा हामीले पार्टीको सांगठनिक सुदृढीकरणमा कस्तो योगदान गर्नुपर्छ भन्ने बुझाई फराकिलो बनाउने मञ्चको रुपमा पनि यो बैठकलाई सधैं स्मरण गरिने छ ।

हाम्रो आन्दोलनलाई सुदृढ गर्नका लागि पनि यो बैठक महत्वपूर्ण हुने छ । बैठकले दिने सुझाव तथा गर्ने निर्णयलाई संगठन निर्माण तथा सुदृढीकरणको कार्यनीति बनाइने छ । बैठकले हाम्रा सबल र दुर्बल पक्षको मिहिन विश्लेषण गरी ठोस र उपयोगी निष्कर्ष दिनेछ भन्ने हाम्रो विश्वास छ ।

हामीसामु उभिएका चुनौतीलाई कसरी सामना गर्ने र संगठनलाई नेपाली पत्रकारहरूको सबैभन्दा ठूलो मात्रै नभई गौरवशाली आयाम कसरी दिन सकिन्छ भन्ने विषयमा पनि सहभागी साथीहरूको अमूल्य सुझाव प्राप्त हुने अपेक्षा छ ।
एकता र एकतावद्ध प्रयास नै कुनै पनि संगठन बलियो र दिगो हुने प्राथमिक शर्त हुन्।

हामी हाम्रो मूल उद्देश्य र लक्ष्यमा प्रष्ट हुनैपर्छ । हाम्रो संगठनको जन्म नहुँदै गर्भमै यसले इतिहासको महान कार्यभार पूरा गरिसकेको छ ।

जनताको संविधानलाई एक गिद्धे प्रवृत्तिले लुछेर ध्वस्त बनाउँदा हामी प्रतिरोधमा उत्रियौं, लोकतान्त्रिक गणतन्त्रलाई भताभुंग पार्ने ओली प्रवृत्तिलाई परास्त गर्ने लडाइँमा हामी अग्रपंक्तिका योद्धा बन्यौं ।

हामीले यी काम नगरेको भए आज यो देशमा संविधानको हैन हुकुमको शासन लादिएको हुन्थ्यो, लोकतान्त्रिक गणतन्त्र होइन, व्यक्तिकेन्द्रित अधिनायकत्व हावी भइसकेको हुन्थ्यो। यस अर्थमा हाम्रो संगठनले गर्भमै ऐतिहासिक कार्यभार पूरा गरिसकेको छ । यसमा हामीले गर्व गर्नुपर्छ ।

संविधान र लोकतान्त्रिक गणतन्त्रमाथिको खतरा अझै कायम छ । त्यो गिद्द प्रवृत्ति जीवितमात्रै होइन, उत्साहित र आक्रामक पनि छ । निर्वाचनको माध्यमबाट फेरि त्यो प्रवृत्ति सत्तामा उक्लन खोज्दै छ । कथंकदाचित त्यसले सत्ताको बागडोर सम्हाल्ने अवस्था आयो भने उसका हिंस्रक पञ्जाबाट संविधान र लोकतन्त्र उम्कने सम्भावना रहने छैन ।
त्यसैले त्यो प्रवृत्तिका पखेटा र नंग्रा ताछेर संविधान र लोकतन्त्रको रक्षा गर्ने नेकपा (एकीकृत समाजवादी) को आन्दोलन लाई प्रोत्साहित र सहयोग गर्नुपर्ने अर्को ऐतिहासिक कार्यभार हाम्रो काँधमा थपिएको छ । यस बैठकबाट फर्किएपछि सबै साथीहरूले यो कार्यभारलाई प्रमुख  कामको रुपमा लिनुहुनेछ भन्ने विश्वास गरेको छु।

समाजवादी प्रेस संगठन सत्य बोल्ने, लेख्ने र सत्यको रक्षाका लागि संघर्ष गर्ने श्रमजीवी पत्रकारहरूको संगठन हो। जसले सत्यलाई सापेक्षताका आधारमा बुझ्छ उसले सत्यको सेवा गर्न सक्दैन । हामी सत्यलाई सत्यकै रुपमा बुझ्छौं ।

आज मुलुकका अगाडि खतरा ठिंग उभिएको सत्य हो, त्यो खतरा निमिट्यान्न नपारी मुलुक अगाडि बढ्न सक्दैन भन्ने पनि सत्य हो। हाम्रो मातृ पार्टी नेकपा एकीकृत समाजवादी मात्रै त्यो खतरासँग जुध्ने सच्चा शक्ति हो भन्ने पनि सत्य हो।

त्यसैले सत्य रक्षाका लागि हामीले नेकपा एकीकृत समाजवादीको आन्दोलनलाई पृष्ठपोषण गर्नु जरुरी छ । कथित व्यावसायिकताको आवरणमा सत्य लुकाउन हामी चाहन्नौं, त्यसैले पार्टीको अभियानलाई खुलेर मिशन पत्रकारिताको माध्यमबाट समर्थन र सहयोग गर्दा हामी हाम्रो पेशागत कर्तब्य निर्वाह गरेको गौरव महसुस गर्दछौं ।

यस बैठकले हाम्रो संगठनको राष्ट्रिय आकार मात्रै उजिल्याएको छैन, राष्ट्रिय परिदृष्यमा हाम्रो संगठनको अपरिहार्यता पनि प्रष्ट पारिदिएको छ । अब हाम्रो सशक्तिकरणको अभियान सुरु भएको छ ।

विधिमाथि विश्वास गर्ने हामीहरूले प्रशवकालको पीडा मात्रै महसुस गरेर पुग्दैन, त्यसबेला हुने सानातिना गल्तीलाई पनि स्वाभाविकरुपमा लिँदै अब त्यस्ता कमजोरी नहुन् भन्ने प्रण गर्नुपर्छ । यो बैठकले त्यस्ता कमजोरी औंल्याएर हामीलाई थप ऊर्जावान बनाउनेछ भन्ने आशा गर्नैपर्छ ।

पुस ५ गते ओलीले सार्वभौम संसद्विघटन गरेपछि विद्रोहमा उत्रिएका हामीले त्यसबीच आन्दोलनकै क्रममा नेपाल पत्रकार महासंघको निर्वाचनमा भाग लियौं । प्रतिगमनविरुद्ध सडक आन्दोलनमा उत्रिएका अन्य भातृ संगठनहरुसँग गठबन्धन गरेर महासंघको नेतृत्व तहमा दुई सचिव गोविन्दप्रसाद चौलागाईं, हेककर्ण विकसहित सदस्यमा माधव पौडेल, उत्तर विष्ट, सन्तराम बिडारी, सुभाष साह, मणि दाहाल र शान्ता आबबुहाबलाई हामीले विजयी गरायौं । जसको नेतृत्व वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले गर्नुभएको थियो।

त्यसैगरी, आर्थिक पत्रकार समाज (सेजन) मा हाम्रो समर्थनमा अध्यक्ष पद जिताउन सफल भयौं । हालै सौराहामा सम्पन्न जनजाति पत्रकार महासंघमा हाम्रा उपाध्यक्ष बुद्धवीर राई सचिवमा र हाम्रा संगठनका बुद्ध पुन कर्णाली इन्चार्जमा चयन हुनुभएको छ ।

अन्तमा, यस बैठक सफल बनाउन देशभरबाट एकत्रित हुनुभएका सबै श्रमजीवी पत्रकार साथीहरूप्रति आभार व्यक्त गर्दछु। बैठकको तयारीका लागि अहोरात्र खटिनुहुने केन्द्रीयकार्यसमितिका सहकर्मी साथीहरू धन्यवादका पात्र हुनुहुन्छ । यस समारोहमा उपस्थित भई हामीलाई उत्साहित पार्नुहुने पार्टीका नेता तथा अग्रज पत्रकारहरूप्रति पनि आभार प्रकट गर्दछु।
धन्यवाद, अभिवादन ।

समाजवादी प्रेस संगठन, नेपाल
प्रथम केन्द्रीय कमिटीको बैठक

२०७८ चैत १२, काठमाडौं