नेकपा विवाद बालुवाटार र कोटेश्वरमा आआफ्नै गुटका बैठक

१४ वैशाख, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक राजनीतिमा उतारचढावको संकेत आएसँगै गुट र समूहका बैठकहरु तीव्र हुन थालेका छन् । सोही क्रममा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समूहको बालुवाटार, माधवकुमार नेपाल समूहको कोटेश्वरमा बैठक बसेको हो ।
बालुवाटारमा सुवासचन्द्र नेम्वाङ, विष्णु रिमाल, शंकर पोखरेल लगायतका नेताहरुको जमघट भएको हो भने कोटेश्वरमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी समिति सदस्यहरुको जमघट भएको हो । बरिष्ठ नेता नेपालको कोटेश्वरस्थित निवासमा आठजना भन्दा बढी नेपाल पक्षीय स्थायी समिति सदस्यहरु पुगेका छन् ।
अध्यादेश प्रकरणपछि पार्टी स्थायी समितिको बैठक माग गरेपनि अध्यक्ष ओलीले बैठक नबोलाउने संकेत गरेपछि नेपाल कसरी अघि बढ्ने भनेर सरसल्लाह गर्न जुटेको नेताहरुले बताएका छन् । त्यसका लागि तीनै जना नेताहरुले आफु निकटलाई बोलाएर छलफल गरेका हुन् ।
गत बुधबार स्थायी समिति बैठक माग गर्दै नेपाल पक्षका २० जना स्थायी समिति सदस्यले हस्ताक्षर बुझाएका थिए । जसमा अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण विष्ट, बेदुराम भुषाल, भीमप्रसाद आचार्य, भिम रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन् ।
त्यसैगरी चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडल, पम्फा भुषाल, मणि थापा, मात्रिका यादव, लिलामणि पोखरेल र हरिबोल गजुरेल छन् ।
नेकपाको विधानमा जुनसुकै कमिटीमा पनि एक तिहाई सदस्यले बैठकको माग गरे बोलाउनुपर्ने व्यवस्था छ । तर अध्यक्ष केपी शर्मा ओली तत्काल बैठक नबोलाउने पक्षमा छन् । त्यसका लागि उनले सचिवालयका नेताहरुसँग हिजो शनिबार छुुट्टाछुटै छलफल गरेका थिए । उपाध्यक्ष बामदेव गौतमले समेत पार्टीमा थुप्रै समस्याहरु रहेको भन्दै आइतबार एक प्रेस नोट जारी गरेका छन् ।