Breaking News

पल शाह प्रकरणमा दुर्गश थापको बयान : शाहले किशोरीमाथि बलात्कार गरेको सुन्नमा आएकाले पीडितलाई न्यायको लागि अघि बढ्न सुझाव दिए

अभिनेता पल शाह बलात्कार प्रकरणमा थुनछेक बहस चलिरहेको छ । यसै क्रममा आज सोही प्रकरणमा मुछिएका गायक दुर्गेश थापाले पनि बयान दिएका छन् । दुर्गेस नामले चिनिने दुर्गाबहादुर थापाले दिएको बयानमा शाहले किशोरीमाथि बलात्कार गरेको सुन्नमा आएकाले पीडितलाई न्यायको लागि अघि बढ्न सुझाव दिएको बयान दिएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर गरेको अभियोगमा पत्रअनुसार दुर्गेशले काठमाडौंको अनामनगरमा आफूहरु भेला भएर पीडितलाई कानुनी प्रक्रियामा अघि बढ्न सुझाव दिएको बयान दिएका हुन् ।

‘मिति २०७८।०१।१४ गते राति प्रदिप थापाको घर बास बसेको अवस्थामा प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहले पीडित नाबालिकालाई विवाह गर्ने आश्वासन देखाई जबर्जस्ती करणी गरेको भन्ने कुरा थाहा हुन आएकोले मिति २०७८।०३।२३ गते काठमाडौं अनामनगरमा हामी भेला जम्मा भई पीडितलाई न्यायको अगाडि बढ्न सुझाव दिएका हौँ’, बयानमा भनिएको छ ।

उनले पीडित किशोरी र पलसँग एकै समूहमा काम गर्दै आएको उल्लेख गर्दै बाग्लुङको गल्कोटस्थित बिद्यालयको सांस्कृति कार्यक्रममा पनि सँगै सहभागी भएको बताएका छन् । त्यहाँ २०७७ चैत १३ गते जाँदा पीडित नाबालिका, प्रतिवादी, अन्य साथीहरू कृष्ण जोशी, सम्राट चौलागाई र योगेश काजीसँगै भएको उनको बयानमा उल्लेख छ ।