Breaking News

स्थानीय तह निर्वाचनमा पार्टीको भूमिकाबारे छलफल गर्न ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक बस्दै

४ चैत, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक बस्दै छ । स्थानीय तह निर्वाचनमा पार्टीको भूमिकाबारे छलफल गर्न कपिलवस्तुको शिवगढीमा आजदेखि बैठक सुरु हुने बुझिएको छ ।

प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई उपयोग वा बहिस्कार गर्ने भन्नेबारे बैठकले नीतिगत निर्णय गर्ने छ ।

गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोगबारे प्रस्ताव गरेका थिए । उक्त प्रस्तावबारे नेकपाको उच्च तहमै समान मत छैन । पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्तावको पक्षमा प्रवक्ता विश्वकर्मा मात्रै उभिएका थिए । वास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’यसको विपक्षमा थिए । अर्का सचिवालय सदस्य सन्तोष बुढामगर भने तटस्थ बसेका थिए । पार्टीमा विप्लव र प्रवक्ता विश्वकर्माको पडक भएकाले केन्द्रीय समिति बैठकले चुनाव उपयोगको नीति लिने अनुमान गरिएको छ ।

चुनावमा जानुपर्नेमा विप्लव र विश्वकर्मा एकमत रहे पनि कोसँग मिलेर जाने भन्नेमा उनीहरुबीचमै मतभिन्नता छ । विश्वकर्मा एमालेसँग तालमेल गरेर जानुपर्ने पक्षमा छन् भने विप्लव खुलिसकेका छैनन् ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग विप्लवको नियमित भेटघाट भइरहेकाले विप्लवले माओवादीसँगै मिलेर जानुपर्ने विचार राख्नसक्ने ठानिएको छ ।