सत्तारुढ दल नेपाली काँग्रेसले स्थानीय तह लक्षित एक महिने चुनावी अभियान आजबाट सुरु

स्थानीय चुनाव नजिकिदै जाँदा सत्तारुढ दल नेपाली काँग्रेसले स्थानीय तह लक्षित एक महिने चुनावी अभियान आजबाट सुरु गर्दैछ । ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ नारासहित देखि ७७ वटै जिल्लामा आजबाट काँग्रेसको एक महिने चुनावी अभियान सुरु हुन लागेको हो ।

अभियानको उद्घाटनका लागि पार्टीले खटाएका केन्द्रीय प्रतिनिधि सबैजसो जिल्लामा पुगिसकेको काँग्रेस प्रवक्ता प्रकाशशरण महतले रातोपाटीलाई
बताए । ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीतिका साथ फागुन २९ गतेदेखि चैत २९ गतेसम्म काँग्रेसले अभियान थाल्दै छ ।

प्रवक्ता महतका अनुसार काँग्रेसलाई चुनावमा विजयी गराउन वडा र टोल तहसम्म पुगेर संगठन अभिवृद्धि गर्ने जिम्मेवारी केन्द्रीय प्रतिनिधिलाई दिइएको छ । महतले अभियानका क्रममा स्थानीय निर्वाचनमा काँग्रेसलाई विजयी गराउन मतदातालाई अपिल गरिने बताए।

पार्टी विधानको व्यवस्थाअनुसार जिम्मेवारी बाँडफाँट गर्दै अभियानले बृहत्तर रूपमा पार्टीका नेता तथा कार्यकर्ता परिचालन गरिएको उनको भनाइ छ । अभियान सञ्चालनअघि नै काँग्रेसले जिल्लादेखि क्षेत्रीय समितिका बैठकहरू सम्पन्न गरेको छ ।

टोल समिति गठनलाई पनि उसले तीव्रता दिएको छ । अभियान र संगठन निर्माणसँग सँगै लगिने प्रवक्ता महतले बताए । पार्टीले खटाएका केन्द्रीय प्रतिनिधिले तत्कालीन नेकपा नेतृत्वको सरकारले गरेका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष राखिने उनको भनाइ छ ।