आउँदो चुनावमा यो नगरपालिकामा काँग्रेसले जित्ने २ सय प्रतिशत सम्भावना

गोकर्णेश्वर नगरपालिका प्रमुख, सन्तोष चालिसे

२०७४ सालको स्थानीय तहको चुनावमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुखमा सन्तोष चालिसे निर्वाचित भएका थिए । त्यतिबेला विषम परिस्थितिमा पनि आफू भारी मतले विजयी भएको र अहिले उनको दलको अवस्था राम्रो रहेको चालिसेको भनाई छ । नेपाली काँग्रेसको क्षेत्रीय सभापति समेत रहेका उनी आगामी स्थानीय तहको चुनाव पनि काँग्रेसले नै जित्ने दावी गर्छन् । नगरप्रमुख पदमा निर्वाचित भएपछि आफूले गरेको काममा कसैले औँला उठाउने अवस्था नभएको उनको जिकिर छ । आगामी स्थानीय तहको निर्वाचनको सन्दर्भमा केन्द्रीत रहेर सो नगरपालिकाका प्रमुख सन्तोष चालिसेसँग गरिएको यो कुराकानी :

 तपाई फेरि मेयरमा दोहोरिने कि नदोहोरिने ?
यसमा मेरो विचार भन्दापनि हामी पार्टीको पद्धतिअनुसार चलेका हुन्छौं । त्यसमा पनि म पार्टीको जिम्मेवार क्षेत्रीय सभापति पनि हुँ । आफैंले टिकट दिनुपर्ने मान्छेले म उठ्छु वा उठ्दिन अहिले भन्न मिल्दैन । मेरा नेता गण, पार्टीको केन्द्रले यसो गर भन्लान् मैले त्यसै गर्नुपर्ने हुन्छ । यसका जिल्ला अथवा केन्द्रको कुरा हुन्छ । शेरबहादुर दाइले बोलाएर तपाई यसो गर्नुस् भन्न सक्नुहुन्छ । अहिले नै मैले यो विषयमा केही भन्न सक्दिन ।

पार्टीले टिकट दियो भने पछि त हट्नुहुन्न ?
मैले अघि पनि भनेँ अब पार्टीलाई सहयोग गर्न वडाध्यक्षमा उठ् भनेर कसैले भनेमा वडाध्यक्षमा पनि उठ्नुपर्छ । अथवा सांसद बन्न जा भन्लान् । मैले जे गर्दा पार्टीलाई सहयोग पुग्छ त्यो गर्न म तयार छु ।

अहिले गोकर्णेश्वर नगरपालिकामा काँग्रेसको अवस्था कस्तो छ ?
अहिले हाम्रो अवस्था धेरै नै राम्रो छ । विषम परिस्थितिमा पनि मैले उच्च मत ल्याएर जितेको हुँ । अहिले हामी यो नगरपालिकामा निकै बलियो छौँ ।

पाँच वर्ष नगर प्रमुख भएर काम गर्नुभयो ? के–के काम गर्नुभयो त ?
सबैभन्दा मुख्य कुरा काम गर्ने पद्धति निर्माण गर्नुपर्दछ । एउटा सिंगो गाडी लिएर लामो यात्रामा हिँड्न लागेको छ भने त्यसका लागि के–के चाहिन्छ आवश्यक सामानहरु हुनुपर्यो । त्यसै ल्याङ्फ्याङ् हिँड्दा कहाँ दुर्घटनामा पर्छ, कहाँ के हुन्छ केही थाहा हुँदैन । गोकर्णेश्वर नगरपालिकाको एउटा कोठाबाट मैले काम सुरु गरेको थिए । म आउँदै गर्दा नगरपालिका एउटा कोठाबाट चलिरहेको थियो । अहिले हामीसँग आवश्यक सबै सामग्रीसहित ७ वटा शाखा छ । नौ वटै वडा कार्यालय बनिसके । २८ करोडमा केन्द्रीय कार्यालय बन्न लागेको छ । करोड माथिका ५ वटा खानेपानी आयोजना तयारी भइसकेको छ ।



डेढ करोड खर्च गरेर नगरपालिकाको डिजिटल डाटा सर्भे मैले नै गराएको हुँ । डाटा नै नभई के योजना बनाउने कसरी काम गर्ने ? नगरपालिकामा कतिवटा घर छ ? कति मान्छे छन् भन्ने नै थाहा छैन, कति रोजगार छन्, कति बेरोजगार छन्, कति जेष्ठ नागरिक छन्, कति बालबालिका छन् त्यो पनि थाहा छैन । यो थाहा नपाई कसरी काम गर्ने भन्ने अवस्था थियो । अहिले मसँग कसको घरमा कति बाख्रा छन्, कुन घरमा कतिजना छन् सबै डाटा छ । प्रत्येक घर घरमा नम्बर राखिएको छ । त्यो नम्बर कम्प्युटरमा राख्ने बित्तिकै सबै डाटाहरु एकैपटक आउँछ ।

अहिलेसम्म नेपालको अरु कुनै नगरपालिकामा नभएको अत्याधुनिक फोहोर जलाउने मेसिन पनि हामीसँग छ । वातावरण सफा राख्न जापानबाट दशौं करोड खर्च गरेर ल्याएर नगरपालिकामा स्थापना गरिसके ।
कृषकहरूका लागि परिचयपत्र बनाइदिएको छु ।

हिजोसम्म नगरपालिकाबाट कुन किसानले के सुविधा पायो पाएन केही हिसाब किताब थिएन । तपाईंले गाई बाख्रा, कुखुरा पाल्नुभएको छ भने कार्ड सिष्टमबाट सुविधा पाउनुहुन्छ । वर्षभरीमा कसले के सुविधा पायो, कसले के गर्यो  हामीसँग सबै डाटा छ ।

गोकर्णेश्वर नगरपालिकामा बाटोघाटो बन्न केही पनि बाँकी छैन । जोरपाटी–सुन्दरीजल सडक पनि पिच गरेर सम्पन्न गरिसकेँ । बाटोमा बत्ति हाल्ने काम सम्पन्न भइसकेको छ । ठाउँ ठाउँमा सीसी क्यामेरा राख्ने काम सम्पन्न भएको छ । तीन चार करोडको बगैंचा पार्कहरु बन्दैछ । तारेभीरसम्म सडक पिच भइसक्यो । सुन्दरीजलबाट नुवाकोटको सिमानासम्म पुग्ने बाटो ढलान भइसकेको छ । मैले विकासको एउटा पद्धति स्थापित गरिसकेको छु ।

गोकर्णेश्वर मन्दिरमा १८ करोडको सुनको छाना हालेर त्यसलाई एउटा धामको रुपमा विकास गरिरहेका छौँ । धार्मिक पर्यटनको क्षेत्रमा यो नगरपालिकाले फड्को मारेको छ । केन्द्रबाट ७५३ वटा स्थानीय तहलाई नम्बरिङ गरे माथिबाट आउनुभएका साथीहरुले हामीलाई ८१ दशमलव ७ प्रतिशत नम्बर दिएर देशभरीका नगरपालिकामा हाम्रो स्थान माथि रहेको छ ।

केन्द्रमा काँग्रेस, माओवादी केन्द्र नेकपा एसको गठबन्धन सरकार चलिरहेको छ । तपाईको नगरपालिकामा गठबन्धन दलबीच कस्तो सम्बन्ध छ ?
आगामी चुनावमा गठबन्धन गरेर जाने वा नजाने पार्टी केन्द्रले निर्णय गरेर जाने कुरा हो । यहाँ हाम्रो सम्बन्ध राम्रो छ । माओवादी पनि बलियो छ, समाजवादी पनि बलियो छ । हामी बीच आपसी समन्वय भयो भने राम्रो हुन्छ ।

आगामी चुनावमा पनि गोकर्णेश्वरमा काँग्रेसले जित्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
आउँदो चुनावमा यो नगरपालिकामा काँग्रेसले जित्ने २ सय प्रतिशत सम्भावना छ । त्यसमा शंका गर्ने कुनै ठाउँ छैन । यसको आधार भनेकै हामीले गरेको काम हो । पाँच वर्ष मैले नेतृत्व गर्दा कुनै गलत काम गरेको भए चुनाव जित्ने अवस्था नै थिएन । काम गरेको गर्यै छौँ, सबै जनता खुसी छन् ।

हिजो विषम परिस्थितिमा त मैले भारी मत ल्याएर जिते, अहिले त झन् सबै जनता खुसी छन् । कसैले एउटा औँला नउठाइकन  मैले ५ वर्ष बिताएँ । म कहाँ कुनै विरोधको एउटा निवेदन परेको छैन् । सबै पार्टीको सर्व सहमतिले ८ वटा नगर परिषदको बैठक सकेको छु । अहिलेसम्म मैले गरेका काममा कुनै विरोध आएको छैन ।

रातोपाटीबाट