समयमै क्षतिपूर्ति नपाएको भन्दै धानमा बाला नलागेर पीडित बन्न पुगेका किसानहरु पुनः आन्दोलित

२७ फागुन, काठमाडौं । समयमै क्षतिपूर्ति नपाएको भन्दै धानमा बाला नलागेर पीडित बन्न पुगेका किसानहरु पुनः आन्दोलित भएका छन् ।

डीवाई २८ नामक हाइब्रिड धान पीडित उपत्यका वरपरका किसानहरुले शुक्रबार माइतीघर मण्डलामा विरोध सभा गरेका हुन् । अखिल नेपाल किसान महासंघ उपत्यका समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा किसानहरुले सरकारसँग तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न माग राखेका छन् ।

समयमै मल, बिउ र कृषि सूचना नदिएको सरकारले क्षतिपूर्ति नदिएर थप पीडित बनाएको पीडित कृषक आशिष अधिकारीले गुनासो गरे । सरकारले घोषणा गरेको राहत रकम उपत्यकामा बूढानीलकण्ठका थोरै किसानले मात्रै पाएको उनले गुनासो गरे ।

तत्काल क्षतिपूर्तिको व्यवस्था नभए कृषि ज्ञान केन्द्र र कृषि बिउ बिजन कार्यालयहरुमा ताला लगाउने चेतावनी उनीहरुको छ । किसानलाई समयमै मल, बउि र विषादीको उपलब्धता गराउन पनि उनीहरुले सरकारसँग माग राखेका छन् ।