नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीको गण्डकी प्रदेश प्रक्षिण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्ने क्रममा सत्ता गठबन्धनका नेताहरुलाई भोक र निन्द्रा लाग्न छोडेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले एमाले जन दवावकै कारण सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्न बाध्य भएपनि चुनाव हारिने डरले नेताहरुलाई भोक र निन्द्रा लाग्न छोडेको बताएका हुन् ।
‘निर्वाचनको मिति घोषणा भएपछि भोक लाग्न छोड्यो, निन्द्रा लाग्न छोड्यो । निर्वाचनको हिसाबकिताब गर्छन् अनेक खालका’, ओलीको भनाइ छ । उनले सरकारमा हुने पार्टीका नेता कार्यकर्ता एमालेले लिएको नीति र विचार सहि भएकै कारण एमाले प्रवेश गरिरहेको बताए । ओलीले गठबन्धनका नाममा जनता अल्मल्याउने, छक्कयाउने काम गरिरहेको बताए । गठबन्धनप्रति लक्षित गर्दै ओलीले भने, ‘धक्का, क्रमभंग, छलाङ, महाविपत्ति । यसले के के विकास गर्छ ? विकास गर्छ ? कसलाई धक्का ? कम्युनिस्ट पार्टीको दुई तिहाइको सरकार ढालिदियो, कम्युनिस्ट पार्टी फुटाइयो’, ओलीको भनाइ छ ।
प्रतिक्रियावादीहरुसँग मिलेर काँग्रेसको नेतृत्वमा सरकार बनाएर क्रान्ति गर्छौ भन्नेहरु कम्युनिस्ट हुन नसक्ने समेत बताए । वास्तविक कम्युनिस्ट पार्टी हो एमालेमात्र भएको जहाँ नेपाली त्यहाँ एमाले भइसकेको बताए । ‘गाउँमा मात्रै होइन, जहाँ नेपाली त्यहाँ एमाले । यो किन ? सुशासनयुक्त, विकासको बाटोमा देशलाई अघि बढाउन । नेपाललाई पछौटे देशबाट आधुनिक सम्मृद्ध र विकसित देश बनाउन’, ओलीको भनाइ छ ।